कतारमा क्यान्सर पीडित भएर उपचार गरिरहेका दुई नेपाली युवतीलाई नेपाली संघ–संस्थाले गरे सहयोग
- बैशाख ३१, २०८१
- 0
कतारमा क्यान्सर रोगबाट पीडित भएर उपचार गरिरहेका दुई नेपाली युवतीलाई नेपाली संघ–संस्थाहरुले आर्थिक सहयोग गरेका छन । वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहदा क्यान्सर रोगबाट पीडित बन्न पुगेका रुपन्देहीकी सङ्गीता परियार र दाङकी उर्मिला सुलेमानीलाई केहि नेपाली संघ–संस्थाले उपचारका लागि आर्थिक सहयोग गरेका हुन ।
पाठेघरको क्यान्सरबाट पीडित परियार र ब्रेष्ट क्यान्सर भएकी सुलेमानी आर्थिक अभावका कारण उपचार गराउन समस्यामा परेका थिए । आजाद भिसामा रहेका उनीहरूको उपचारमा आर्थिक अभाव भएको जानकारी गैरआवासीय नेपाली संघ (एनआरएनए, एनसीसी) कतारको श्रमिक विभागले पाएपछि विभागका संयोजक कृष्ण पन्थी तथा महिला संयोजक सुष्मा खतिवडाले बिरामीलाई भेटेर उनीहरूको अवस्थाका बारेमा जानकारी लिएका थिए ।
उनीहरूलाई आर्थिक सहयोगको आवश्यकता रहेको हुँदा एनसीसी कतारको संयोजकत्वमा रकम संकलन गरी हस्तान्तरण गरिएको पन्थीले बताए । नेपाली महिला समाज कतारका तर्फबाट संस्थागत ४ सय १०, एनसीसी कतारको तर्फबाट संस्थागत १ हजार, एनसीसीकै महिला संयोजक सुष्मा खतिवडाले संकलन गरेको १ हजार १ सय १९ र लुम्बिनी समन्वय परिषद् कतारले संकलन गरेको १४ सय ४२ गरी कूल ३ हजार ९ सय ७१ कतारी रियाल दुबै विरामीलाई बराबर बाँढेर हस्तान्तरण गरिएको छ ।
बिरामीलाई रकम हस्तान्तरण गर्न पन्थी र खतिवडाका अलावा एनआरएनए आइसीसी सदस्य तेज कटुवाल, एनसीसी कतारका अध्यक्ष रमेश भट्ट, महिला समाजकी अध्यक्ष माया केसी पुगेका थिए ।
क्यान्सरबाट लडिरहेका दुबै विरामीलाई थप नगद सहयोगको आवश्यकता देखिएको बताउदै महिला समाजकी अध्यक्ष केसीले अन्य संघ–संस्था तथा नेपाली समूदायबाट थप सहयोग मिल्ने विश्वास लिएको बताइन ।
सहयोगका लागि :
ब्रेष्ट क्यान्सरबाट ग्रसित उर्मिला सुलेमानी – +९७४ ३१६३ ८००४
पाठेघरको क्यान्सरबाट ग्रसित संगीता परियार – +९७४ ३०६१ ६९५५