साउदीबाट झापाका लिम्बूलाई उद्धार गर्न ‘ब्लडमनी’ जुटाउने अभियान सुरु

news-details

दुर्घटना मुद्दामा साउदीको जेलबाट मुक्त भए पनि ‘ब्लडमनी’ तिर्न नसकेर नेपाल आउन नपाएका झापाका प्रशान्त लिम्बूको उद्धारका लागि रकम संकलन अभियान सुरु भएको छ । प्रवासी नेपाली समन्वय समिति पिएनसिसीले लिम्बूले तिर्नुपर्ने ब्लडमनी रकम जुटाउन अभियान थालेको हो ।

२ वर्षअघि रोजगारीका लागि साउदी अरबको रियादस्थित धुर्मामा पुगेका झापाका लिम्बूले चलाएको सवारी साधन दुर्घटना हुदाँ साउदीका एक नागरिकको मृत्यु भएको थियो ।

उक्त सडक दुर्घटनामा लिम्बुलाई दोषी ठहर गर्दै साउदीको पुनरावेदन अदालतले २ लाख ४० हजार रियाल जरिवाना (ब्लडमनी) तिर्न आदेश दिएको थियो । अदालतले उक्त ब्लडमनी आधा कम्पनीले र आधा लिम्बूले तिर्नुपर्ने फैसला गरेको थियो । जसमा लिम्बूले १ लाख २० हजार रियाल तिर्नुपर्ने हुन्छ । जुन नेपाली रुपैयाँ अनुसार ३६ लाख हो ।

लिम्बूसँग साउदीको चालक अनुमति पत्र नहुँदासमेत गाडी चलाउन लगाएका कारण कम्पनीलाई पनि अदालतले दोषी ठहर गरेको हो ।

फैसलासँगै ६ महिनाअघि जेलबाट मुक्त गरे पनि ब्लडमनी तिर्न नसक्दा लिम्बू नेपाल फर्किन पाएका छैनन् ।

बुबा उदयसिंह लिम्बू र श्रीमती कमला लिम्बूले पिएनसिसीमा आएर प्रशान्तको उद्धारका लागि सहयोग गर्न आग्रह गरेको पिएनसिसीका अध्यक्ष कुलबहादुर कार्कीले काठमाडौंमा पत्रकार सम्मेलन गरेर जानकारी दिए । लिम्बूको आर्थिक अवस्था कमजोर भएकाले सहयोग गर्न लागिएको अध्यक्ष कार्कीले जनाए।

पिएनसिसीकै पहलमा साउदीबाटै नवलपरासीका थानेश्वर भुसालको उद्धार गरिएको थियो । उनले तिर्नुपर्ने ब्लडमनी बापतको झन्डै ४५ लाख रुपैयाँ जुटाउन पिएनसिसी, एनआरएन लगायत देश-विदेशमा रहेका संघसंस्था मार्फत नेपालीले सहयोग गरेपछि भुसाल नेपाल फर्किसकेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *