अमेरिकाका एसी शेर्पा महावाणिज्यदूतमा बढुवा, थप ४ बर्षको कार्यकालका लागि नियुक्त
- उद्वव भट्टराई
- कार्तिक २२, २०८१
- 0
अमेरिकाको वासिङ्टन राज्यको सियाटलका लागि अवैतनिक वाणिज्यदूत रहेका एसी शेर्पालाई सरकारले महाबाणिज्यदूतमा नियुक्त गरेको छ । शेर्पा आगामी चार बर्षका लागि महावाणिज्यदूतमा नियुक्त भएका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार वासिङ्टनमा बसोबास गर्ने नेपाली समुदाय र नेपाललाई उल्लेख्यरुपमा सहयोग पु¥याइरहेका शेर्पालाई अवैतनिक वाणिज्यदूतबाट मन्त्रीपरिषद्ले स्वीकृत गरी कार्य सम्पादनको आधारमा बाणिज्यदूतमा नियुक्त गरिएको हो ।
शेर्पाले सन् २०१६ देखि वासिङ्टन राज्यमा अवैतनिक वाणिज्यदूतको रूपमा काम गर्दै आएका छन् । ‘संयुक्त राज्य अमेरिकाको वासिङ्टन राज्यमा कार्यरत अवैतनिक वाणिज्यदूतको हकमा निर्णय मितिदेखि लागु हुने गरी निजलाई अवैतानिक महावाणिज्यदूतमा नियुक्त गर्ने निर्णय गरिएको छ’ परराष्ट्र मन्त्रालयले २०८१ कर्तिक ७ गते गरेको निर्णयमा उल्लेख गरिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार कार्यसम्पादनका आधारमा राम्रो कार्य गरेको आधारमा शेर्पालाई वाणिज्यदूतमा बढुवा गरेको हो । नेपाल सरकारले शेर्पाप्रति सम्मान र विश्वास गर्दै उनलाई चार वर्षका लागि सियाटलस्थित नेपालको अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
लामो समय अमेरिकामा रहेर सामाजिक काम, पर्यटन प्रर्वद्धन एवं व्यवसायमा संलग्न शेर्पालाई थप चार वर्षका लागि बढुवा गर्दै महावाणिज्यदूत नियुक्त गर्दा उनीप्रति अझ धेरै अपेक्षा गरिएको छ ।
नेपाल सरकारले शेर्पालाई अवैतनिक महाबाणिज्यदुत नियुक्त गरेपछि शेर्पाले नेपाल र नेपालीका लागि सक्दो काम गर्दै आएको र अब जिम्मेबारी अझ थपिएको रोजगार मञ्चलाई बताए ।
गैरआवासिय नेपाली संघको अभियानमा सक्रिय रहेकाले शेर्पाले आगमी दिनमा नेपाललाई अमेरिकामा चिनाउने र नेपालीका लागि आवश्यक सहयोग गर्ने थप दायित्व थपिएको बताए । शेर्पालाई उक्त क्षेत्रका नेपाल र नेपाली समुदायको ब्यापार, ब्यबसाय, पर्यटन, शिक्षा लगायतका क्षेत्रमा कानुनी अन्य र आवश्यक सहयोग र साथ दिने गरी थप जिम्मेवारी तोकिएको छ ।
शेर्पा दुई दशकभन्दा बढी समयदेखि अमेरिका बस्दै आएका छन् । अमेरिका र क्यानाडा दुवै देशमा आफ्नो ब्यापार, ब्यबसाय गरेका शेर्पा गैरआवासिय नेपाली संघको द अमेरिकाज् क्षेत्र (उत्तर र दक्षिण अमेरिका) का लागि पुर्व क्षेत्रीय उपसंयोजक भएर काम गरिसको छन् ।
नेपालको पूर्वी जिल्ला सोलुखुम्बुमा जन्मेर सानै उमेरदेखि अमेरिका आएका शेर्पाले विश्वको उच्च शिखर सगरमाथा लगायत विश्वका सात उच्च शिखर (सेभेन समिट) आरोहण गरेका छन् । उनी सामाजिक काम गर्दै आएको सेभेन समिट फाउण्डेशनका अध्यक्ष समेत हुन् ।
उनले हिमाल आरोहणसम्बन्धी ७० देशका लागि प्रशिक्षक पनि हुन्। आफ्नो जिल्लाको सामाजिक विकासमा उत्तिकै सहभागी रहेका शेर्पाले सोलुखुम्बु जिल्लामा मात्र नभएर नेपालभर स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा सहयोग गर्दै आएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार अवैतनिक वाणिज्यदूत र महावाणिज्यदूतका रूपमा कार्यरत शेर्पासहित अन्य १० जनाको कार्यकाल पनि चार वर्ष थप गरिएको छ ।