युएईमा नेपाली महिलाद्वारा आत्महत्या
- साउन २०, २०७५
- 0
अर्घाखाँची । युएईमा हत्या भएको भनिएकी नेपाली महिलाको आत्महत्या गरेको पुष्टी भएको छ । युएईको दुबईमा कार्यरत अर्घाखाँचीको सितगंगा–४ अमराई उपल्लो बजारकी ३९ वर्षीया रिता खनाल गए शनिबार आफूले काम गर्ने दुबईको कार्यालयको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।
कार्यालयको शौचालयमा सलको पासो लगाएर झुण्डिएको र खुट्टाले भुर्इं टेकेको अवस्थामा भेटिएकाले खनालको हत्या भएको आशंका गरिएको थियो । घटनाबारे अनुसन्धान गर्न स्थानीय प्रशासनले सोही कम्पनीमा कार्यरत एक जना बङ्लादेशी नागरिकलाई पक्राउ गरी अनुसन्धान गरि छोडेको थियो ।
घटनाको अनुसन्धान र शवको परिक्षणपछि खनालको हत्या नभई आत्महत्या भएको पुष्टी भएको कम्पनीले जनाएको छ । खनाल दुईबर्ष पहिले तान्जिफको क्लिनिङ सप्लायर्स कम्पनीमा काम गर्न युएई पुगेकी थिइन् ।
३९ वर्षीया खनालका श्रीमानसहित १ छोरा र १ छोरी छन् । खनाल कम्पनीको भिसा रद्द गरेर दशैंमा नेपाल फर्किने तयारी रहेको परिवारले जनाएको छ ।
खनालको हत्या भएको भनिएपछि पूर्व उपप्रधानमन्त्री तथा नेकपा अर्घाखाँचीका सभासद् टोपबहादुर रायमाझीले पनि दूतावाससँग सोधपुछ गरेका थिए ।
लिखित कागजपत्र आइनसकेको तर मौखिक रुपमा हत्या नभई आत्महत्या भएको बारे जानकारी दूतावासमा आएको कार्यवहाक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिए ।
अहिले दुबईस्थित अस्पतालमा रहेको मृतकको शव अस्पताल रिपोर्ट र पुलिस रिपोर्ट आएपछि नेपाल पठाउने उनले बताए ।