सांसद यादवसहित पर्सामा थप ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि
- साउन १७, २०७७
- 1
दिपकप्रसाद गौतम । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रदीप यादव, उनका चालक, पीएसओसहित थप ६४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।
नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणको शुक्रबार राति सार्वजनिक गरिएको रिपोर्टमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद यादव, उनका चालक, पीएसओसहित थप ६४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए ।
सङ्क्रमण पुष्टि भएकामध्ये एक पर्सा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य (सांसद) प्रदीप यादव, सांसद् यादवका निजी चालक र पीएसओसमेत रहेका छन् । सांसद यादवले आफू कोरोना सङ्क्रमित भएको पुष्टि भएपछि घरमा नै आइसोलेसनमा बसेको र कुनै प्रकारका लक्षण नरहेको तथा स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए ।
त्यस्तै, सङ्क्रमण पुष्टि हुनेमा नारायणी अस्पतालकै एक डाक्टर र एक जना पारामेडिक स्टाफ रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले बताए ।
सङ्क्रमित हुनेमा १५ देखि ६८ वर्ष उमेर समूहका तीन महिला र ६१ पुरुष गरी ६४ जना रहेको उहाँले जानकारी दिए । वीरगञ्ज मिनाबजार गहवा क्षेत्रबाट मात्र ३० घरभन्दा बढी र वीरगञ्ज महानगरपालिका वडा न ६ का २२ जना र वडा नं ८ का ११ जना रहेको बताइएको छ ।
यसअघि वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ भने पर्सा जिल्लामा सङ्क्रमितको सङ्ख्या ४६२ पुगेको छ । पर्सा जिल्लामा १३ सङ्क्रमितको मृत्यु भइसकेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बास्नेतले जानकारी दिए ।