गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन गर्न गृहमन्त्रीसँग एनआरएनएको आग्रह

news-details

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन तथा गैरआवासीय नेपालीका सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी तथा नीतिगत पहल गर्न गृहमन्त्री सुधन गुरुङसँग आग्रह गरेको छ।

एनआरएनएका पदाधिकारीहरूले गृहमन्त्री गुरुङसँग भेटवार्ता गर्दै गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था भए पनि संविधानले सुनिश्चित गरेका अधिकारको पूर्ण उपयोगमा अझै कानुनी तथा व्यावहारिक जटिलता रहेको बताएका हुन्। ती जटिलता समाधानका लागि गृह मन्त्रालयबाट आवश्यक पहल र सहजीकरण गर्न उनीहरूले आग्रह गरेका छन्।

भेटका क्रममा ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने मान्यताको मर्मअनुरूप एकपटक वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले पछि विदेशी नागरिकता लिए पनि वंशजको नेपाली नागरिकताको निरन्तरता कायम रहने गरी स्पष्ट संवैधानिक तथा कानुनी व्यवस्था गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो।

सरकारले संविधान संशोधनका लागि छलफल अघि बढाइरहेको सन्दर्भमा गैरआवासीय नेपालीसँग सम्बन्धित नागरिकताको निरन्तरता तथा वंशजको नागरिकताको अधिकारलाई संविधानमै स्पष्ट रूपमा सुनिश्चित गर्न आवश्यक पहल र समन्वय गर्न एनआरएनएले गृहमन्त्रीसँग आग्रह गरेको छ।

जवाफमा गृहमन्त्री गुरुङले गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय तथा निकायसँग आवश्यक समन्वय र परामर्श गरी सकेसम्म छिटो पहल गर्ने प्रतिबद्धता जनाएका छन्। गैरआवासीय नेपालीका सरोकारका विषयमा सरकार सकारात्मक रहेको उल्लेख गर्दै उनले आवश्यक प्रक्रियाका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने बताएका छन्।

भेटका क्रममा एनआरएनएले विपद् व्यवस्थापन तथा मानवीय सहायता क्षेत्रमा संघले गर्दै आएको कामबारे पनि गृहमन्त्रीलाई जानकारी गराएको थियो।

भेटमा एनआरएनए महिला उपाध्यक्ष राधिका गुरुङ (टिका), महासचिव डा. चिरञ्जीवी खड्का, महिला संयोजक रश्मि थापा, दोस्रो पुस्ता संयोजक दीपमाला ढकाल, पूर्व कोषाध्यक्ष प्रकाश पुन, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत तथा सरोज दाहालको उपस्थिति थियो।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया