पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीको सूची पेश गर्न मन्त्रीको निर्देशन

news-details

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अर्को महिना फ्रान्सको पेरिसमा हुने पेरिस ओलम्पिकमा नेपालको सहभागिता र तयारीको विषयमा राष्ट्रिय खलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीसँग जानकारी लिएका छन । श्रेष्ठले एक साताभित्र पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीको सूची टुंगो लगाउन ओलम्पिक कमिटीलाई निर्देशन दिएका छन ।

पेरिस ओलम्पिक्स नजिकिँदै गर्दा बुधबार नेपालको सहभागिता र जिम्मेवारीको विषयमा मन्त्री श्रेष्ठले राखेप सदस्य सचिव टंकलाल घिसिङ तथा ओलम्पिक कमिटिका उपाध्यक्ष ज्योति राणा तथा महासचिव निलेन्द राज श्रेष्ठसँग छलफल गरेका हुन ।

जुलाई २६ देखि अगष्ट ११ सम्म हुने पेरिस ओलम्पिक्समा नेपालबाट विभिन्न ६ खेलका ७ खेलाडीको सहभागिता निश्चित भइसकेको छ । मन्त्री श्रेष्ठले ओलम्पिक्समा सहभागिताको लागि खेलाडी बाहेक पदाधिकारीहरूको हकमा आवश्यकता र जरुरतको आधारमा मापदण्ड भित्र रहेर टोली पठाउनसमेत निर्देशन दिएका छन ।

उनले एक साताभित्र नेपालबाट सहभागी हुने खेलाडी संख्या राष्ट्रिय खेलकुद परिषद्मार्फत् मन्त्रालययमा पेश गर्न नेपाल ओलम्पिक कमिटीलाई निर्देशन दिएका छन । विगतमा भएका कमी कमजोरी र बेथितिलाई नदोहोर्‍याउन र राष्ट्रको गरिमा आँच नआउने गरी सहभागी हुन राखेप र ओलम्पिक कमिटिलाई श्रेष्ठले निर्देशन दिएका हुन ।

छलफलमा राखेप सदस्य सचिव टंकलाल घिसिङले ७ मध्ये तीन खेलाडी टेबल टेनिसका स्यान्टु श्रेष्ठले अष्ट्रेलियामा, पौडीका डुवाना लामाले थाइल्याण्डमा र एलेक्जेन्डर शाहले अमेरिकामा व्यक्तिगत रूपमा प्रशिक्षण गरिरहेको र ब्याडमिन्टनका प्रीन्स दाहाललाई राष्ट्रिय खेलकुद परिषद्ले वैदेशिक प्रशिक्षणका लागि श्रीलंका पठाएको जानकारी मन्त्रीलाई गराए ।

ओलम्पिक कमिटीले सम्बन्धित संघले पठाएको प्रशिक्षकको एक्रिडिटेसनको लागि प्रक्रिया अगाडि बढाएको तर ब्याडमिन्टन संघले कसैको पनि नाम नदिएको जनाएको छ । जसले गर्दा पहिलो पटक ओलम्पिकमा छनोट भएका प्रिन्स दाहाल प्रशिक्षक बिना ओलम्पिक्स जाने सम्भावना उच्च छ ।

राखेप सदस्य सचिव घिसिङले तयारी र राष्ट्रिय संघको माग अनुसार छनोट प्रतियोगिता खेल्न ५० लाख बजेट खर्च भएको जानकारी गराए । पेरिसमा हुने ओलम्पिक्स र पारा ओलम्पिक्सको लागि आउने आर्थिक वर्षको बजेटमा ९० लाख बजेट विनियोजन भएको छ ।

सदस्य सचिव घिसिङले पेरिस ओलम्पिक्समा सहभागीताका लागि खरिद प्रक्रिया अगाडि बढाइसकेको पनि जानकारी दिए ।

पेरिस ओलम्पिक्समा नेपालबाट छनोट चरण पार गरेका टेबलटेनिसका स्यान्टु श्रेठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुष्मिता नेपाल, पौडीका डुवाना लामा र एलेक्जेन्डर शाह, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले सहभागीता जनाउने निश्चित भइसकेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *