नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३२ औ स्थापना दिवस तथा ३० औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सोमवार काठमाडौंमा बार्षिक साधारण सभाको उद्घाटन गर्दै वैदेशिक रोजगार व्यवसाय भित्रको बिकृति हटाएर यस व्यवसायलाई सम्मानित व्यवसाय बनाउन आग्रह गरेका छन् ।

बैदेशिक रोजगार एउटा बाध्यात्मक अवस्था भएकोले यो अवस्थाको अन्त्य नहुन्जेलको लागि यसलाई व्यवस्थित र सुरक्षित गर्नुपर्नेमा जोड दिदै मन्त्री अर्यालले यसका लागि नीजि क्षेत्रको सहयोग आवश्यक रहेको बताए । उनले भने, ‘विदेश जानुपर्ने एक पटकको बाध्यता भएपनि फेरि जान नपरोस् । त्यसका लागि अब केही सुरुवात गर्नुपर्छ । देशमा केही हुदैँन् भन्ने सोचेर विदेश फर्किनु पर्ने बाध्यात्मक अवस्था अन्त्य गर्ने तर्फ नीजि क्षेत्रले यसमा महत्वपूर्ण भूमिका खेल्नु पर्ने हुन्छ । हामी मिलेर नै अगाडि बढ्नुपर्छ ।’

मन्त्री अर्यालले फ्री भिसा फ्री टिकट लागु हुन नसक्दा खर्वौ रकम गैरवैकिङ च्यानलबाट जम्मा भएकोमा चिन्ता व्यक्त गरे । उनले भने–‘ फ्री भिसा फ्री टिकट नाम मात्रै भयो, अधिकतम ४ प्रतिशत भन्दा बढी यसमा सफलता प्राप्त गर्न सकेनौ भनेर व्यवसायीले भनेको मैले सुनिरहेको छु । हरेक वर्ष २ खर्ब १ अर्ब ६० करोडभन्दा बढी पैसा मेनपावर व्यवसायीले गैरबैंकिङ्ग च्यानलमा जम्मा गरेको आफै भनिरहेका छन्, यसलाई निराकरण कसरी गर्न सकिएला भनेर हामीले प्लान गरिहेका छौं ।’

संघको ३२ औं स्थापना दिवस : मन्त्रीको संवोधनदेखि क्यानसरपीडितलाई सहयोगसम्म

मन्त्री अर्यालले वैदेशिक रोजगार व्यवसायीहरुले नै भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतीमा वैदेशिक रोजगारी पठाउने कार्य गरिरहेकोले यसलाई रोक्नसमेत आग्रह गरेका छन् ।

भिजिट भिसा र व्यक्तिगत भिसाको नाममा नेपालीद्धारा नै नेपाली ठगिएको मन्त्री अर्यालको भनाई थियो । ‘ठगिने पनि नेपाली ठग्ने पनि नेपाली । तपाईहरु आफनै छातिमा हात राखेर जिम्मेवार भएर सोचिदिनुस’ मन्त्री अर्यालले भने ।

कार्यक्रममा संघका पुर्व अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य एलपी साँवा लिम्बूले माइग्रेशनको तथ्यांक प्रस्तुत गर्दै नेपालीहरु विदेश जाने र पठाउने प्रकृया नरोकिने बताए । उनले व्यवसायीहरुका केही मागलाई सरकारले संवोधन गर्नु पर्ने बताउँदै व्यवसायीहरु भित्रका बिकृतिलाई चिर्दै जानु पर्ने औल्याए ।

श्रम मन्त्रालयका सचिव घनश्याम उपाध्यायले वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउनका लागि सरकारले निरन्तर काम गरिरहेको भएता पनि व्यवसायीहरु आफैमा जिम्मेवार हुनु पर्ने बताए ।

संघको ३२ औं स्थापना दिवस : मन्त्रीको संवोधनदेखि क्यानसरपीडितलाई सहयोगसम्म

संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैज्ञानिक रुपमा वैदेशिक रोजगारीमा पठाउदा सेवा शुल्क तोकिनुपर्ने, इजरायल, जापान र कोरियाको रोजगारी सहज बनाउनु पर्ने, एक सय श्रमिक पठाउनैपर्ने बाध्यकारी व्यवस्थालाई खारेज गर्नु पर्ने, वैदेशिक रोजगार ऐन परिमार्जन गर्नुपर्ने लगायतका माग राखेको थिए ।

कार्यक्रममा उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्र चलायमान बनाउने क्षेत्र वैदेशिक रोजगारको क्षेत्र भएकाले सरकारले यसप्रति विशेष ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा संघका पुर्व अध्यक्षहरु तथा अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

संघका महासचिव मेघनाथ भूर्तेलले संचालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष डिकबहादुर खत्री कुमारले स्वागत मन्तब्य राखेका थिए ।

विदेशबाट फर्किएका उद्यमी र पुर्वअध्यक्षलाई सम्मान, क्यानसरपीडितलाई आर्थिक सहयोग

संघको ३२ औ स्थापना दिवस तथा ३० औ बार्षिक साधारण सभामा विदेशबाट फर्किएर उद्यमी बनेका ३ जना र दुई जना पुर्व अध्यक्षलाई सम्मान गर्नुका साथै एक जना क्यानसर पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

संघको ३२ औं स्थापना दिवस : मन्त्रीको संवोधनदेखि क्यानसरपीडितलाई सहयोगसम्म

लामो समय इजरायलमा काम गरेर फर्किएर स्वदेशमा कृषि व्यवसायमा काम गरिरहेका एशोसिएशन अफ एग्रीकल्चरल टेक्नोलोजी इन्ड्रष्टी नेपालका अध्यक्ष खोजराज कटुवाल, नेपाल केरा उत्पादक संघका अध्यक्ष विष्णुहरी पन्त र नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष धु्रव गौतमलाई सम्मान गरिएको हो ।

यस्तै संघका पुर्व अध्यक्ष पुष्पलाल महर्जन र ताराप्रसाद भट्टराईलाई सो अवसरमा सम्मान गरिएको थियो ।

संघको ३२ औं स्थापना दिवस : मन्त्रीको संवोधनदेखि क्यानसरपीडितलाई सहयोगसम्म

कार्यक्रममा संघले वैदेशिक रोजगारमा गएर फर्किएर क्यान्सर रोगसँग लडिरहेका नवराज न्यौपानेलाई १ लाख १ हजार १ सय ११ आर्थिक सहयोग पनि गरेको छ ।