छोरी मात्रै जन्माएको भन्दै घर निकाला

news-details

छोरी मात्रै जन्माएको भन्दै जुम्लामा एक महिला घर निकाला भएकी छन् । लगातार छ पटकसम्म छोरी मात्रै जन्माएको भन्दै कनकासुन्दरी गाउँपालिका-६ लुड्कीकी झनमाया रोकाया गत कात्तिकदेखि घरबाट निकालिएकी हुन् ।

श्रीमान् गंगाराम रोकायाले ६ महिनाको गर्भवती अवस्थामा आफूलाई घरबाट निकालेको पीडित झनमायाले बताइन् । श्रीमानले घरबाट निकालेपछि माइतीमा बस्दै आएकी २६ वर्षीया उनले पुस ३ गते छैटौं सन्तानका रूपमा छोरी जन्माएकी छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरी जन्माइएकी नवजात छोरीलाई जन्मदै हेपाटाइटिस बी भएको र साथमा पैसा नहुँदा उपचारमा समस्या भएको झनमायाले दुखेसो गरिन् ।

झनमायाकी दुईटै छोरी माइतीको संरक्षणमा छन् । उनी अहिले कान्छी छोरीसँगै अस्पतालमै छिन् । माइती पक्ष पनि निकै विपन्न भएका कारण उनको उपचारमा समस्या परेको छ ।

अस्पतालले अन्य बाहिर जिल्ला लैजान सिफारिस गरेपछि कसरी जाने भन्ने चिन्ताले झनमायालाई सताएको छ । सानै उमेरमा बिहे गरेकी उनका ६ सन्तानमध्ये तीन मात्रै जीवित छन् ।

पहिलो सन्तान छोरी मृत जन्मिएको थियो । त्यसपछि गर्भवती हुँदा गर्भ परीक्षण गर्दा छोरी देखिएपछि दुई छोरी श्रीमानकै दबाबले गर्भपतनसमेत गरेको झनमायाले सुनाइन् ।

‘पटक–पटक छोरी जन्माएपछि निकै दुःख पाएँ’ उनले भनिन्, ‘श्रीमान् नै आफ्नो नभएपछि परिवारले पनि राम्रो गरेनन्, आफ्नो कोही भएनन् ।’

गर्भको शिशु उल्टो छ भन्ने थाहा पाएपछि वृद्ध बुबाको सहारामा अस्पताल पुगेकी उनले छोरी रोगी जन्मिएपछि झन् पीडा थपिएको बताइन् ।

कसैको सहयोग पाए छोरीलाई हेपटाइटिस ‘बी’ को खोप लगाउने र नभए उपचार नै नगरेर अस्पतालबाट जानुपर्ने स्थिति रहेको झनमायाको भनाइ छ । छोरा नजन्माएको भन्दै आफूलाई घरबाट लखेट्ने श्रीमान् भने कहाँ छन् आफूलाई पत्तो नभएको उनले सुनाइन् ।

-रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *