आजदेखि उपत्यकासहित देशका विभिन्न ४७ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा

news-details

सीता शर्मा / काठमाडौ । सरकारले आज शुक्रबारदेखि उपत्यकासहित देशका विभिन्न ठाउँमा ४७ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर उपत्यकासहित देशका विभिन्न ठाउँमा सञ्चालन भएका सुपथ मूल्यका पसल कात्तिक २७ गतेसम्म सञ्चालनमा ल्याइने जनाइएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा साल्ट ट्रेडिङ कर्पोरेसन, नेपाल खाद्य संस्थान र दुग्ध विकास संस्थानले केही ठाउँमा संयुक्त रूपमा राख्ने छन् भने धेरै ठाउँमा आ–आफ्नो तरिकाले सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाइएको छ ।

विभागका महानिर्देशक योगेन्द्र गौचनले बजारमा प्रचलित मूल्यमा ५ देखि १० प्रतिशतसम्म छुट गरी सुपथ पसल सञ्चालनको तयारी भइरहेको तथा घुम्ती पसलसमेत सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार सरकारी संस्थान मात्रै नभई विभागमा दर्ता भएर सञ्चालनमा रहेका सहकारी पसलले समेत छुट मूल्यका साथ सुपथ मूल्य पसलमा सहभागिता हुनेछन् ।

साल्ट ट्रेडिङले काठमाडौँ उपत्यकामा नौ स्थानमा स्टल सञ्चालन गर्नेछ । त्यस्तै तीनवटा घुम्ती पसलबाट नुन, चिनी बिक्री वितरण गर्नेभएको छ । उपत्यका बाहिर भने आफ्नो डिपो तथा कार्यालय रहेका २४ स्थानबाट सामान बिक्री वितरण गर्ने साल्ट टे«डिङले जनाएको छ । साल्ट टे«डिङले नुन प्रतिकेजी दुई रुपियाँ, चिनी प्रतिकेजी पाँच रुपियाँ, तेल चामललगायतका वस्तुमा पनि छुटसहित बिक्री गर्ने जानकारी गराएको छ ।

नेपाल खाद्य संस्थानले पनि उपत्यकामा विभिन्न पाँच ठाउँ र देशभर रहेका आफ्ना गोदाम तथा कार्यालयबाट पनि सुपथ मूल्यमा खाद्यसामग्री बिक्री वितरण गर्ने भएका छन् ।

संस्थानले बासमती र गोरखनाथ चामलमा प्रतिकेजी १० छुट र मनसुली, जिरा मसिनो चामललगायतका चामलमा प्रतिकेजी पाँच रुपियाँ छुटसहित बिक्री गर्ने जनाएको छ । संस्थानले खसीबोका र च्याङ्ग्रा पनि बिक्री वितरण गर्ने जनाएको छ । घटस्थापनादेखि बिक्री गरिने खसीबोका तथा च्याङ्ग्रा प्रचलित मूल्यभन्दा प्रतिकेजी १० रुपियाँ छुट दिने जनाएको छ ।

दुग्ध विकास संस्थानले चाडपर्व लक्षित सहुलियत अनुसार डीडीसी घिउ प्रतिलिटर ५० रुपियाँ, पनीर प्रतिकेजी १० रुपियाँ छुटसहित बिक्री वितरण गर्नेछ । त्यस्तै संस्थानको उत्पादन बटर, दही, चिज, लालमोहन, रसवरी, पेडा, लस्सी, आइसक्रिमजस्ता वस्तुमा पनि छुटसहित बिक्री वितरण गर्ने जनाएको छ ।

विभागका महानिर्देशक योगेन्द्र गौचनले सहकारी, खुद्रा व्यवसायी सङ्घ, खाद्य उत्पादन उद्योग, थोक बिक्रेता, खाद्य पैठारी गर्नेलगायतलाई पनि चाडपर्वमा छुट दिने विषयमा उनीहरू सकारात्मक देखिएको तर कति छुट दिने भन्ने विषयमा भने अहिलेसम्म टुङ्गो नलागेको जानकारी दिए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *