जाजरकोटमा पहिरोमा परि पाँचको मृत्यु, चार अझै बेपत्ता

news-details

जाजरकोट सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । पहिरोले पुरेका ५ जनाको शव निकालिएको छ भने चार जना अझ बेपत्ता छन् । एक जनाको भने जीवितै उद्धार गरिएको छ।

भेरी नगरपालिका ६ गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको छ । मृत्यु हुनेमा खड्गबहादुर लुहारकी श्रीमती २५ वर्षीया शिततला लुहार, उनका छोरीहरु ९ वर्षीया भावना परियार, ६ वर्षीया रञ्जना परियार र ३ वर्षीया मनिसा परियार रहेका छन् । उनीहरुको शव पहिरोले पुरेको अवस्थामा घरभित्रबाट निकालिएको हो ।

उनीहरु सबै भेरी–३ खलंगा ठाँटी स्थित तीर्थराज बोहराको घरमा भाडामा बस्दै आएका थिए। त्यस्तै घरमुली तीर्थराज बोहराकी ७ वर्षीया छोरी नग्मा बोहराको पनि मृत्यु भएको छ ।

जीवितै उद्धार गरिएका लुहारको जाजरकोट अस्पतालमा उपचार भैरहेको छ । छाती, टाउको र खुट्टामा चोट लागेका खड्गबहादुरको अवस्था गम्भीर रहेको बताइएको छ।

यसै ठाउँमा गोपाल सुनारको घर पहिरोले पुर्दा त्यहाँ चार जना बालबालिका अझै हराइरहेका छन् । ती बालबालिकालाई घर सँगै पहिरोले पुरेको अनुमान गरिएको छ ।

प्रहरीका अनुसार हराइरहेकामा कुशे–६ ढिमेका १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नवीन परियार त्यसैगरी नलगाड–१ डाँडागाउका ८ वर्षीय गोविन्द परियार र १० वर्षीय दर्शक परियार रहेका छन् ।

हाल प्रहरी, सेना र स्थानीय उद्धारमा जुटिरहेका छन् । पुरिएको घर पन्छाएर पुरिएकाहरुको खोजी कार्य भइरहेको छ । पानी परिरहेको अप्ठेरो ठाउँ भएको र पानी परिरहेकाले उद्धारमा कठिनाइ भइरहेको उद्धार खटिएका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक इन्दजित सुनारले बताए ।

बिहान ८ बजे घटना भए लगतै प्रहरी घटनास्थलमा खटिएको थियो । पहिरोले गोपाल सुनारको घरका पूर्णरुपमा पुरेकाले उद्धारमा समस्या भएको उनले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *