विराटनगरमा ‘छोरी बचाऊ’ पछि ‘छोरी पढाउ’ अभियान

news-details

विराटनगर महानगरका उपप्रमुख इन्दिरा कार्कीको अग्रसरतामा शुरु भएका कतिपय कार्यक्रमले निक्कै प्रशंसा बटुलेपछि उहाँले फेरी अर्को महत्वपूर्ण कार्यक्रम घोषणा गर्नुभएको छ ।

कार्यभार सम्हालेको एक वर्षको छोटो अवधिमै ‘छोरी बचाऊ’ अभियान निक्कै लोकप्रिय बन्न पुगेपछि उपप्रमुखको योजना कार्यक्रम अन्तर्गत ‘छोरी पढाउ’ अभियान शुरु हुँदैछ । महानगरका ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारका बालिकालाई लक्षित गरेर यो अभियान शुरु हुने उहाँले जानकारी दिनुभयो । एक वर्षकै कार्यकालमा जनताबीच निक्कै लोकप्रिय भइसक्नुभएकी कार्की कुराभन्दा काममा बढी विश्वास गर्नुहुन्छ ।

पछिल्लो यो घोषणाले उहाँको लोकप्रियता अझै चुलिएको छ । जनप्रतिनिधिले जनताबीच वाचा गरेका कतिपय कुरा पूरा गर्न नसकिरहेको बेला कार्कीको अग्रसरतामा भएका कतिपय कार्यले ठूलो सफलता प्राप्त गरेपछि उहाँलाई नगरवासीले भरोेसाको केन्द्रमा राखेका छन् । ‘छोरी पढाउ’ अभियानअन्तर्गत दोस्रो सन्तानका रूपमा छोरीनै जन्माएमा उच्च शिक्षा हासिल गर्न महानगरले रु २५ हजार अग्रिम जम्मा गरिदिने भएको हो ।

उहाँले भन्नुभयो, “पहिलो सन्तान छोरी भएको हुनुपर्छ र दोस्रो सन्तान छोरी भएर एक महिनाभित्रमै जन्म दर्ता गरेपछि महानगरले अध्ययन गर्नकै लागि रु २५ हजार जम्मा गरिदिन्छ । यो अभियान विपन्न परिवारलाई लक्षित गरेर ल्याइएको हो, उहाँले थप्नुभयो, “आर्थिक अभावले बालिका पढ्नबाट वञ्चित हुन नपरोस् भन्ने ध्येय राखेर उपप्रमुख योजना कार्यक्रम ल्याइएको हो ।” तर यसका लागि महानगरले शर्त पूरा गरेका अभिभावकलाई मात्र रु २५ हजार नगद जम्मा गर्ने जनाएको छ । गर्भवती भएकाले बच्चा जन्मिनुअघि कम्तीमा सात पटक स्वास्थ्य जाँच गरेको हुनुपर्छ ।

कुनै पनि स्वास्थ्य संस्थामा जाँच गरेको प्रमाणपत्र पेश गरेपछि नगद रु २५ हजार जम्मा हुन्छ । सामुदायिक विद्यालयमा अध्ययन भएका बालिकालाई मात्र यो योजनाअन्तर्गतको रकम उपलब्ध गराइने उपप्रमुख कार्कीले बताउनुभयो । (रासस)

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *