‘शिक्षामा समान पहुँच’ भन्ने सरकारी नारा कागजमा मात्र

news-details

चीनको वुहान प्रान्तमा देखिएको कोरोना भाइरसको प्रभाव सबै क्षेत्रमा परेको छ । तर, सबै भन्दा बढी शिक्षा क्षेत्र प्रभावित भएको छ । किन भने यसले कलिला बालबालिकाको भविश्य नै अन्धकार अर्थात घरभित्र सिमिति बनाएको छ । जसको असर बालबालिकामा त झन दिर्घकालिन पर्ने देखिन्छ ।

बिद्यालय गएर ब्यवहारिक रुपमा सिक्नु पर्ने अवस्थामा बालबालिका घरको साँघुरो कोठाको बन्दधनमा बाधिन बाध्य भएका छन् । यसले मानसिक र शारिरीक रुपमा दुबै असर बालबालिकामाथि परेको छ । सिकाई र शारिरीक बृद्धिका असरसंगै मनोबैज्ञानिक असर दिर्घकालिन रुपमा पर्ने देखिन्छ । ब्याग बोकेर बिद्यालयमा भर्ना हुने र बिद्यालयका खुल्ला चौरमा खेल्ने उमेर समूहका बालबालिकाको भविश्य मात्र अन्योल भएको छैन, उनीहरुको अधिकारको समेत हनन भएको देखिन्छ ।

वुहानमा देखिएको संक्रमण केही महिनामै विश्वभरी फैलिएको थियो । विश्व स्वास्थ्य संगठनले सन् २०२० जनवरी २० मा विश्वव्यापी स्वास्थ्य संकट विश्वव्यापी महामारीको घोषणा गरेसंगै यसको असर नेपालमा पनि पर्ने अनुमान गरीदै थियो । फलत नेपाल पनि अछुतो रहेन । यहाँ लामो समयदेखि स्कुल र सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द छन् । स्कुलमा गएर पठनपाठन गर्ने काम प्राय ठप्प भएको छ ।

शहरमा बस्ने केहि बालबालिकामा अनलाईन कक्षा मार्फत पढाई सञ्चाल गरीएपनि प्रभावकारी देखिएको छैन । यो सुविधाबाट ग्रामिण दुरदराजका बालबालिका बाहिर नै छन् । इन्टरनेटको पहुँच पुग्न नसक्नु, ल्यापटप, कम्प्युटर र मोबाईलजस्ता सामाग्रीमा आर्थिक अवस्थाका कारण पुहँुच पुग्न सकेको छैन् । जसका कारण शिक्षामा समान पुहँच भन्ने सरकारी नारा यथार्थमा नारामा मात्र सिमित बनेको छ । तसर्थ सरकारले शैक्षिक बिभेद गरेको छ । गाउँ र शहरको सिकाई संगसंगै अगाडि बढ्न सकेको छैन् र सरकारले यसलाई व्यवहारिक र बैज्ञानिक रुपमासमेत अगाडि बढाउन सकेको छैन् ।

पढेर कक्षा उत्तिर्ण हुन पाउने उनीहरुको अधिकार समेत परीक्षाहरू स्थगित हुँदा कुण्ठित भएका छन् । परीक्षा पुनः सञ्चालन गर्ने वा आन्तरिक मूल्यांकनलाई आधार मान्ने भन्ने अनिर्णित छ । अधिकांश विद्यार्थीमा कोरोना त्राससंगै पढाईको चिन्ताले मनोबैज्ञानिक असर पार्न थालेको छ । उनीहरूमा सकरात्मक वा नकरात्मक केही मानसिक असर अवश्य पुगेको छ । अधिकांश विद्यालयहरूलाई क्वारेन्टाइन बनाएर बाह्य स्थानबाट आएका व्यक्तिहरूलाई त्यहाँ राख्ने व्यवस्था गरिएका कारण त्यस्ता बिद्यालयको अवश्था ज्यूँकात्यूँ छ ।

नेपालको शैक्षिक क्षेत्र सधैं अस्तव्यस्त रहँदै आएको कुरा सर्वविदितै छ । शिक्षा क्षेत्रमा भएका विविध समस्याहरूलाई व्यापकरूपबाट समाधान गर्ने प्रयास नबढेको कारण यहाँको जस्तो दयनीय अवस्था अन्त विरलै देखिन्छ । जुनसुकै आन्दोलनको पहिलो तारो बन्ने शिक्षा क्षेत्र यसै अलमलमा रहेको छ भने आफूभित्रै भएका विकराल समस्याले यसलाई झन गाँज्दै गएको पाइन्छ । गुणात्मक शिक्षाको जतिसुकै गुणगान र भाषणबाजी गरे पनि स्थिति चाहीँ अत्यन्तै नकरात्मक बन्दै गएको छ, जुन राष्ट्रको लागि राम्रो संकेत होइन ।

आजको समस्या राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय शिक्षा नीति हुन आवश्यक भएको छ । विपदले अवसर पनि ल्याउँछ भनेझैं यो महामारीले शिक्षा क्षेत्रलाई सुधार्ने अवसर दिएको छ । सामाजिक क्षेत्रको महत्वपूर्ण हिस्सा शिक्षा क्षेत्रलाई पनि विगतको विवेचना, वर्तमानको विश्लेषण र भविष्यको पूर्वानुमान गर्दै सुधारका पाइला चाल्ने अवसर प्राप्त भएको छ । सरकार, विद्यालय, शिक्षक, विद्यार्थी, सञ्चालक र अभिभावक सबैको एउटै उद्देश्य हुन जरूरी छ ।

यहाँको शैक्षिक क्षेत्रबाट उत्पादित जनशक्तिले विश्वको जुनसुकै कुनामा गएर प्रतिस्पर्धा गर्न सकोस् । यसका लागि गहन ज्ञान र सीपको विकास हुन आवश्यक छ । यस महामारीमा नेपालको शैक्षिक स्थितिलाई हेर्दा कति गैरजिम्मेवार रहेछ भन्ने कुरा प्रष्ट हुन्छ । विद्यालय सञ्चालक, मुनाफा सरकार, निष्कृय शिक्षक, अस्थीर राजनीति र मौन अभिभावक यी सबै कारणले पनि शिक्षा क्षेत्रमा विकृति देखिएको छ । शिक्षा जस्तो संवेदनशील क्षेत्रमा देखिएको यस्तो संवेदनशीलताले नयाँ पुस्ताको भविश्य के होला ? प्रश्नचिन्ह खडा भएको छ ।

आज नेपालको शिक्षा क्षेत्र परीक्षा सञ्चालन, स्थगन र प्रश्नपत्र निर्माणमै अस्तव्यस्त छ । कतिपय विद्यार्थीमा कोरोनाको त्रास भन्दा पनि यतिका महीनासम्म किताव पढिएन, पहिला पढेको पनि सबै भूलिसके अब परीक्षामा के लेख्ने भन्ने चिन्ता छ भने अर्कोतिर महामारी कतिबेला विषम् परिस्थितिमा पुग्ला र शुल्क लिन नपाईने हो कि भन्ने भयले परीक्षा लिने पनि होडबाजी चल्दै गएको छ ।

यहाँको मूल्यांकन प्रणाली पनि गुणात्मकलाई भन्दा बढी परिमाणात्मक वा संख्यात्मकलाई ध्यान दिइन्छ । विद्यार्थीमा आउने व्यवहारिक परिवर्तन वा उसको सिकाइको प्रगति वा उपलब्धीहरूको लेखाजोखाभन्दा बढी उसको स्मरण शक्ति मापन गरिन्छ ।
शिक्षा भनेको ज्ञान र क्षमतामा विकास गर्न खास गरेर स्कूलरकलेजहरूमा दिइने तालिम, सिकाई वा शैक्षिक प्रकृया हो । शिक्षाको प्रमुख उद्देश्य भनेकै असल चरित्र निर्माण गर्नु हो, व्यक्तित्व, नैतिकता र चेतनाको विकास गर्नु हो । तर, त्यो देखिदैन् ।

कोरोना विपदमा वर्तमानमा शिक्षा क्षेत्रले भोगेको अनुभव, विश्व परिवेश, सिद्धान्त र व्यवहारमा आएका परिवर्तनहरू, आम नागरिकको अपेक्षामा परिवर्तन अनुकुल शिक्षा क्षेत्रलाई सञ्चालन, व्यवस्थापन गर्न हाम्रा सोच, संकल्प, मार्गदर्शन व्यवस्थापन प्रणाली तथा नतिजा सूचकहरूमा रूपान्तरणको जरूरी छ ।

अहिलेको परीपेक्षमा राष्ट्रिय मापदण्ड र अन्तर्राष्ट्रियस्तर अनुकूलको पाठ्यक्रम, परीक्षा र मूल्याङन पद्धति आवश्यक हुन्छ । वैज्ञानिक, प्राविधिक, व्यवसायीक, सीपमूलक, रोजगारमूलक जीवनोपयोगी एवं गुणस्तरीय शिक्षामा सबैको सहज, सरल, सुलभ र समान पहुँच सुनिश्चित गर्नुपर्ने देखिन्छ ।

आज कोरोना भाइरसले विश्व समुदाय आक्रान्त भएको अवस्थामा स्वास्थ्यमा लापरवाही यति धेरै छ कि मास्क र स्यानिटाइजरको समेत प्रयोग नगरी भीडभाड गरीदैछ । स्वस्थ्य शरीरमा नै स्वस्थ्य मनको विकास हुन्छ र तन मन स्वस्थ्य भए अपेक्षित बौद्धिक विकास सम्भव छ । नेपाल पनि कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ र संक्रमणको संख्या पनि दिनानुदिन बढ्ने क्रममा छ । कहिलेसम्म यसको चपेटामा बस्नुपर्ने भन्ने बारेमा ठ्याक्कै आँकलन गर्न सकिँदैन ।

शैक्षिक र मूल्यांकन प्रणाली यस्तो हुनुपर्छ । जसमा विद्यार्थीका कमीकमजोरीहरू औँल्याउन सकियोस् र सुधारात्मक कदम चालियोस् । उसको मनोवैज्ञानिक र शारीरीक तथा मानसिक परीक्षण गरियोस् । उसको कौशल, रुची, प्रवृत्ति र झुकाव आदिको पहिचान गरेर ती क्षेत्रमा उसलाई प्राप्त हुन सक्ने सफलताको भविष्यवाणी गरियोस् र सो क्षेत्रमा लाग्न प्रोत्साहन गरियोस् । समयानुकूल परिवर्तित एवं परिमार्जित पठनपाठन सामग्री सिकाइ कृयाकलापहरू अपनाएर स्तर वृद्धि गरियोस् ।

विद्यार्थी तथा नागरिकबाट परीक्षाहरू आन्तरिक मूल्याङ्कनमार्फत ग्रेडिङ गरी विद्यार्थीको कक्षावृद्धि गर्न, विपद् जोखिमका लागि सचेतना कार्यक्रम ल्याउन र वैकल्पिक उपायको शिक्षा सञ्चालन गर्नका लागि आवाज उठिरहेको छ । यसबाट नेपालको शिक्षण पद्धतिमा सूचना प्रविधिको प्रवेश प्रारम्भ हुन लागेको बुझ्न सकिन्छ । हुन पनि विश्वका विकसित मुलुकका शिक्षा प्रणालीसँग तादात्म्य राख्न पनि कोरोनाकाल हाम्रा लागि प्रविधिमैत्री शिक्षा प्रणालीको खाका कोर्ने उपयुक्त अवसर बन्न सक्नेछ । तर, यस्तो अवसर सबैकालागि समान रुपमा लागु हुनु पर्छ । कसैलाई काख र कसैलाई पाखाको स्थितिको अन्त्य हुनु पर्दछ ।

नेपाल सरकारले वैकल्पिक माध्यमबाट शिक्षा प्रणालीको निरन्तरताका लागि नीतिगत खाका कोर्न थाले पनि तत्काल पाठ्यक्रम र परीक्षा प्रणालीमा आमूल परिवर्तनको कल्पना गरेको छैन । तर यो समय परिवर्तनको एउटा उत्तम अवसर हो । त्यसैले पनि सरकारले सबैकालागि शिक्षा भन्ने नारालाई यस कोरोना कहरमा पनि शहरदेखि गाउँसम्म व्यवहारिक रुपमै र समान रुपमै कार्यान्वयन गर्नु पर्ने देखिन्छ ।

तर, कोरोनाको यस बीचको सात आठ महिनालाई हेर्दा भने नेपालको शिक्षा बिभेदपूर्ण देखिन्छ । शैक्षिक क्षेत्रलाई कसरी अगाडि बढाउँने भन्ने बिषयमा स्वय सरकारसमेत अन्योल भएको देखिन्छ । यसलाई सुधारेर बैज्ञानिक, व्यवहारिक र सबै बालबालिकाकालागि शिक्षामा समान पहुँच हुनु पर्ने देखिन्छ । त्यसैले अहिलेको जस्तो सबैकालागि शिक्षा भन्ने नारा कागजमा मात्र सिमित नबनोस ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *