युवा पुस्ताको आवाज उठाउँदै कांग्रेस केन्द्रीय सदस्यमा गौरव भण्डारीको उम्मेदवारी

news-details

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ताप्लेजुङका गौरव भण्डारीले ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। कोशी प्रदेशका युवा पुस्ताको प्रतिनिधित्व गर्दै पार्टीको केन्द्रीय नेतृत्वमा पुग्ने लक्ष्यसहित भण्डारीले उम्मेदवारी अघि सारेका हुन्।

विद्यार्थी जीवनदेखि नै विद्यार्थी आन्दोलन, सामाजिक गतिविधि तथा समाजसेवामा सक्रिय रहँदै आएको बताउने भण्डारीले आफ्नो राजनीतिक यात्रालाई युवा पुस्ताको मुद्दा र सामाजिक रूपान्तरणसँग जोडेर अघि बढाउने बताएका छन्। उनले युवा पुस्ताका समस्या, सम्भावना र आवश्यकतालाई नजिकबाट बुझ्दै आएको उल्लेख गर्दै पार्टीभित्र युवाको अर्थपूर्ण सहभागिता र पुस्तान्तरणलाई प्राथमिकता दिने धारणा सार्वजनिक गरेका छन्।

भण्डारीले पछिल्लो समय ठूलो संख्यामा नेपाली युवा शिक्षा, रोजगारी र अवसरको खोजीमा विदेशिन बाध्य भइरहेको विषयलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डामध्ये एक बनाएका छन्। नेपालमै गुणस्तरीय शिक्षा, सीप विकास, रोजगारी तथा उद्यमशीलताको वातावरण निर्माण गर्नुपर्ने उनको धारणा छ।

उनले विदेशमा रहेका नेपाली तथा गैरआवासीय नेपालीको ज्ञान, सीप, पूँजी र अनुभवलाई नेपालको विकाससँग जोड्नुपर्ने आवश्यकता पनि औँल्याएका छन्। प्रवासमा रहेका नेपाली र नेपालमा रहेका युवाबीच सहकार्यको वातावरण निर्माण गर्न सके देशभित्रै नयाँ अवसर सिर्जना गर्न सकिने उनको भनाइ छ।

भण्डारीले नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, राष्ट्रियता तथा जनउत्तरदायी राजनीतिक संस्कारलाई आत्मसात् गर्दै पार्टी संगठनमा नयाँ पुस्ताको सहभागिता विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। पार्टीको नीति निर्माण र संगठन सञ्चालनमा युवाको आवाजलाई प्रभावकारी रूपमा समेट्नुपर्ने उनको प्रस्ताव छ।

उनका प्राथमिकतामा युवाका लागि गुणस्तरीय शिक्षा र सीप विकास, रोजगारी तथा उद्यमशीलताको अवसर विस्तार, युवा पलायन न्यूनीकरण, प्रवासी नेपालीको सीप तथा पूँजीलाई देश निर्माणमा जोड्ने, डिजिटल प्रविधि र नवप्रवर्तनमार्फत नयाँ अवसर सिर्जना गर्ने विषय छन्।

त्यसैगरी पार्टी संगठनमा युवा सहभागिता र पुस्तान्तरणलाई बलियो बनाउने, राजनीति तथा सार्वजनिक जीवनमा पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा गाउँदेखि केन्द्रसम्म युवाको आवाजलाई नीति निर्माणसँग जोड्ने विषयलाई पनि उनले आफ्नो एजेन्डामा समेटेका छन्।

‘पहिले देश र जनता, त्यसपछि आफू’ भन्ने भावनालाई आफ्नो राजनीतिक यात्राको आधार बनाउने उल्लेख गर्दै भण्डारीले इमानदारी, जिम्मेवारी, पारदर्शिता र सेवाभावलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।

१५औँ महाधिवेशनमा ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदमा उम्मेदवारी अघि सारेका भण्डारीले युवा पुस्ताको ऊर्जा, अनुभव र नयाँ सोचलाई पार्टी संगठन तथा देशको विकाससँग जोड्ने आफ्नो उद्देश्य रहेको बताएका छन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया