कांग्रेस सभापतिका लागि गगनसहित तीन जनाको उम्मेदवारी

news-details

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि तीन नेताबीच प्रतिस्पर्धा हुने भएको छ ।

मंगलबार साँझसम्म निर्वाचन समितिमा सभापति पदमा तीन जनाको उम्मेदवारी परेको हो । उम्मेदवारी दिनेमा वर्तमान सभापति गगन थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गी रहेका छन् ।

थापा गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट कांग्रेसको सभापति बनेका थिए । त्यसअघि उनी १४औँ महाधिवेशनमा महामन्त्री पदमा निर्वाचित भएका थिए । पार्टीभित्र प्रभावशाली युवा नेताका रूपमा परिचित थापाले यसपटक सभापतिको जिम्मेवारी निरन्तरता दिने उद्देश्यसहित उम्मेदवारी दिएका हुन् ।

राठौर भने १४औँ महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए । लामो समय पूर्वसभापति शेरबहादुर देउवा निकट रहेर राजनीति गर्दै आएका उनी महाधिवेशनको पूर्वसन्ध्यामा संस्थापन पक्षमा आबद्ध भएका थिए ।

सभापतिका अर्का उम्मेदवार खड्गी कांग्रेसका युवा नेताका रूपमा चिनिन्छन् । उनी पछिल्लो समय नेता कृष्णप्रसाद सिटौलानिकट रहे पनि महाधिवेशन नजिकिँदै गर्दा संस्थापन पक्षमा पुगेका थिए ।

तीनै उम्मेदवारले सभापति पदका लागि उम्मेदवारी दर्ता गरेसँगै कांग्रेसको नेतृत्व चयन प्रक्रिया थप प्रतिस्पर्धात्मक बनेको छ । अब महाधिवेशन प्रतिनिधिको मतबाट पार्टीको आगामी नेतृत्व तय हुनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया