राजनीति ‘म्युजिकल चियर’ बन्दा भदौ २३ र २४ को परिस्थिति आयो : गगन थापा

१५औँ महाधिवेशन विगतका कमजोरीको समीक्षा र राजनीतिक व्यवहारमा परिवर्तन ल्याउने अवसर भएकोमा जोड
news-details

काठमाडौं। सत्ता र नेतृत्वमा पुरानै अनुहार दोहोरिइरहने प्रवृत्तिले जनतामा राजनीतिक वितृष्णा बढाएको र त्यसकै परिणामस्वरूप भदौ २३ र २४ को परिस्थिति सिर्जना भएको नेपाली कांग्रेसका सभापति गगन थापाले बताएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बनेको टिप्पणी गरे। प्रधानमन्त्री, मन्त्री र पार्टी नेतृत्वमा पटकपटक उही व्यक्तिहरू दोहोरिने प्रवृत्तिले जनतामा सबै दल र नेता उस्तै हुन् भन्ने निराशा पैदा गरेको उनको भनाइ थियो।

‘प्रधानमन्त्री बनेका फेरि बन्न मन लाग्ने, नेता बनेका फेरि बनिरहने, मन्त्री पनि बनिरहने, सत्ता नछोड्ने प्रवृत्ति देखियो,’ उनले भने, ‘यसले सबै पार्टी र नेता उस्तै हुन्, सबै खराब हुन् भन्ने सन्देश गयो।’

उनका अनुसार राजनीतिप्रतिको असन्तुष्टि लामो समयदेखि सञ्चित हुँदै भुसको आगोजस्तै फैलिएको थियो। राजनीतिक दल र नेतृत्वले जनताको बदलिँदो भावना समयमै बुझ्न नसक्दा त्यसले भदौ २३ र २४ गतेको परिस्थिति निम्त्याएको उनले बताए।

दुई पार्टी मिलेर बनेको दुईतिहाइको सरकारले समेत जनतासँग पर्याप्त संवाद गर्न नसकेको उल्लेख गर्दै थापाले राजनीतिक नेतृत्व जनभावनाबाट टाढिँदा त्यसको असर समग्र राजनीतिक प्रणालीमाथि परेको बताए। ‘यो भुसको आगोले सबैलाई एकैपटक खायो,’ उनले भने।

थापाले राजनीतिप्रतिको अत्यधिक हस्तक्षेप र हरेक विषयलाई राजनीतिक दृष्टिकोणबाट हेर्ने प्रवृत्तिप्रति पनि चिन्ता व्यक्त गरे। सामाजिक सञ्जालदेखि सार्वजनिक जीवनका विभिन्न क्षेत्रमा राजनीतीकरण बढ्दै जाँदा समाजमा अतिराजनीतिको अवस्था सिर्जना भएको उनको भनाइ थियो।

भदौ २३ र २४ गतेका घटनाबाट कांग्रेससहित अन्य दलका नेता तथा कार्यकर्ता पनि प्रभावित भएको उल्लेख गर्दै उनले त्यसपछि पार्टीलाई सम्हाल्न विशेष महाधिवेशनमा जाने निर्णय गरिएको बताए।

विशेष महाधिवेशनपछि निर्वाचनमा सहभागी भए पनि अपेक्षित परिणाम हासिल गर्न नसकेको स्मरण गर्दै थापाले कांग्रेस अहिले नयाँ महाधिवेशनमार्फत आफ्नो राजनीतिक यात्रा अघि बढाउने चरणमा रहेको बताए।

उनले १५औँ महाधिवेशनलाई विगतका कमजोरीको समीक्षा गर्ने र पार्टीको नेतृत्व, कार्यशैली तथा राजनीतिक व्यवहारमा परिवर्तन ल्याउने अवसरका रूपमा लिनुपर्नेमा जोड दिए। जनतामा बढेको राजनीतिक वितृष्णा र दलहरूप्रतिको अविश्वास चिर्न कांग्रेसले आफूलाई समयअनुसार बदल्नुपर्ने उनको भनाइ थियो।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया