काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका क्रममा भएको दमन, देशमा भएका भ्रष्टाचार र जनताको रगतमा राजनीति गर्नेहरूलाई अब कानुनी कठघरामा उभ्याउने चेतावनी दिएका छन् । उनले अहिले आनन्दको निन्द्रा सुतिरहेका अपराधमा संलग्नहरूले भोलि आफू कुन कठघरामा पुग्ने हो भन्ने कल्पना नगरेको भन्दै त्यस्ता व्यक्तिहरूमाथि राज्यले निगरानी राखिरहेको बताएका हुन् ।
मंगलबार साँझ पुरानो संसद् भवन परिसरमा जेनजी शहीदहरूको स्मृतिमा आयोजित दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा पुस्ताले सुरु गरेको सुशासन र परिवर्तनको यात्रा कुनै पनि षड्यन्त्रबाट नरोकिने स्पष्ट पारे ।
शहीदहरूको रगतमाथि राजनीति गर्ने र देश लुट्नेहरूलाई समयले कठघरामा पु¥याउने चेतावनी दिँदै गृहमन्त्री गुरुङले भने, ‘जस–जसले यो अपराध गरे, देशलाई लुटे, हाम्रो रगतमाथि राजनीति गरे, हाम्रा निमुखा भाइबहिनीहरूको छाती र टाउकोमा गोली हाने- उनीहरूलाई एउटा सन्देश छः हामी हेरिरहेका छौँ, पर्खिरहेका छौँ । अहिले आनन्दको निद्रा सुत्नु राम्रै हो, तर भोलिपल्ट त्यो निद्रा कुन कठघरा र कुन जेलमा पुगेर टुट्छ भन्ने उनीहरूले कल्पना पनि गरेका छैनन् ।’
गुरुङले वर्तमान सरकार सत्तामा राज गर्न नभई जनताको सेवा गर्न आएको बताएका छन् । मंगलबार साँझ पुरानो संसद् भवन परिसरमा जेनजी शहीदहरूको स्मृतिमा आयोजित दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा पुस्ताले सुरु गरेको सुशासन र परिवर्तनको यात्रा कुनै पनि षड्यन्त्रबाट नरोकिने दाबी गरेका हुन् ।
गृह मन्त्रालय र नेपाल सरकारको तर्फबाट आन्दोलनका शहीद, घाइते तथा सम्पूर्ण जेनजी योद्धाहरूलाई सलाम गर्दै गृहमन्त्री गुरुङले आफूहरू अधिकार माग्ने अवस्थाबाट अहिले अधिकार दिने ठाउँमा आइपुगेको बताए ।
उनले भने, ‘जहिले झुक्नुपर्थ्यो, आफ्नो अधिकारको लागि जहिले माग्नुपर्थ्यो, लड्नुपर्थ्यो । आज हामी आफैँ अधिकार माग्नेवालाबाट दिने ठाउँमा पुगेका छौँ । हामी आफ्नो अधिकार राम्रोसित माग्छौँ, नदिए खोस्न पनि सक्छौँ । प्रजातन्त्र र गणतन्त्र भाषणमा मात्र सीमित हुनुहुँदैन, त्यसलाई कार्यान्वयनमा उतार्न सक्नुपर्छ ।’
विगतका शासकहरूले देशका युवाहरूलाई विदेश पठाएर रेमिट्यान्समा रमाउने थिति बसालेको टिप्पणी गर्दै उनले त्यो कुनै उपलब्धि नभएको बताए । युवाहरू पलायन हुँदै जाँदा देशलाई वृद्धाश्रम बनाउने अवस्था आएकाले आफूहरू गोली थापेरै आन्दोलनमा होमिनु परेको उनको भनाइ थियो ।
सरकारको मौनता वा संयमतालाई कमजोरी नठान्न आग्रह गर्दै उनले अब राज्यको शक्ति जनताको हितमा मात्र प्रयोग हुने स्पष्ट पारे ।
उनले भने, ‘अब हेलिकप्टर हाम्रो हातमा छ, हेलिकप्टरले अब कसैलाई लिएर भाग्दैन । त्यो हेलिकप्टर उड्छ नै भने पनि नागरिकको सेवा र रेस्क्युका लागि दिनरात खटेर उड्छ । शक्तिको बलमा नागरिकमाथि दमन गर्ने दिन सकिए, शक्ति भनेको नागरिकको सेवा गर्नका लागि हो ।’बालेन्द्र शाह नेतृत्वको सरकार पाँच वर्षसम्म दृढताका साथ अगाडि बढ्ने र सुशासन स्थापित गरेरै छाड्ने उनले उद्घोष गरे ।
सरकारलाई असफल बनाउन विभिन्न षड्यन्त्र भइरहेको उल्लेख गर्दै गृहमन्त्री गुरुङले यो सरकारका साथै जेनजी पुस्ता देश विकासको अन्तिम साससम्म लड्ने बताए ।
‘हामी हार्नेवाला पुस्ता होइनौँ। त्यो दिन आन्दोलनमा पनि हारेनौँ, चुनावपछि पनि हारेनौँ र भोलि पनि हार्नेवाला छैनौँ । जतिसुकै षड्यन्त्र रचिए पनि यो सरकार र यो पुस्ताको शिर झुक्नेवाला छैन। देश विकासको अन्तिम साससम्म हामी लड्छौँ,’ उनले भने ।
facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button








