राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले पार्टी प्रवक्ताको पद तथा गोपनीयताको औपचारिक शपथ लिएका छन्।
रास्वपाले प्रवक्ताको जिम्मेवारी दिएको १३ दिनपछि खरेलले बिहीबार औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ लिएका हुन्। पार्टीको केन्द्रीय समिति बैठकले गत भदौ ५ गते खरेललाई प्रवक्तामा मनोनयन गरेको थियो।
जिम्मेवारी पाएलगत्तै औपचारिक शपथ नलिएका खरेलले भने प्रवक्ताको भूमिकाअनुसारका काम सुरु गरिसकेका थिए। पछिल्लो राजनीतिक तथा सामाजिक परिस्थिति, विपद्का घटनाक्रम तथा पार्टीका समसामयिक धारणा सार्वजनिक गर्ने र सञ्चारमाध्यमसँग समन्वय गर्ने काममा उनी सक्रिय रहँदै आएका छन्।
विशेषगरी बाढीपहिरोजस्ता विपद्का घटनापछि उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका विषयमा खरेलले पार्टीको धारणा सार्वजनिक गर्दै आएका छन्। विपद् व्यवस्थापनमा सरकार एक्लैले मात्र सबै काम गर्न नसक्ने भन्दै उनले उच्चस्तरीय सर्वदलीय संसदीय संयन्त्रमार्फत उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणको काम अघि बढाउनुपर्ने धारणा पनि राख्दै आएका छन्।
शपथ ग्रहणपछि खरेलले औपचारिकताभन्दा जिम्मेवारीलाई प्राथमिकता दिएको बताएका छन्। पार्टीले जिम्मेवारी दिएपछि त्यसअनुसार काम सुरु गरिसकेको र बिहीबार औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ लिएको उनले बताए।
‘राष्ट्रिय स्वतन्त्र पार्टी प्रवक्ताको पद तथा गोपनीयताको औपचारिक शपथ लिएको छु। यो भूमिका र जिम्मेवारीप्रति सधैं सजग र सचेत रहनेछु। पार्टी सभापति, नेतृत्व, कार्यकर्ता र शुभचिन्तक सबैप्रति आभार व्यक्त गर्दछु। उहाँहरूको साथ, सहयोग र सद्भावको अपेक्षा राखेको छु,’ खरेलले भने।
यसअघि पनि उनले देशको असामान्य परिस्थितिमा औपचारिक प्रक्रिया पूरा गर्नुभन्दा जिम्मेवारीअनुसार काम गर्नु प्राथमिकताको विषय भएको बताएका थिए।
खरेल लामो समय सञ्चार क्षेत्रमा सक्रिय रहेर पत्रकारिता गरेका व्यक्ति हुन्। उनी पछिल्लो समय सुशीला कार्की नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारको प्रवत्तासमेत बनेका थिए। त्यसपछि राजनीतिमा सक्रिय हुँदै रास्वपामा प्रवेश गरेका खरेल ललितपुर–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।
रास्वपाले भदौ ५ गतेको केन्द्रीय समिति बैठकबाट खरेलसँगै पार्टीका विभिन्न पदाधिकारी तथा विभागीय जिम्मेवारीसमेत बाँडफाँट गरेको थियो। बैठकले डा. मनोहर प्रधानलाई कोषाध्यक्ष, बसुमाया तामाङलाई सहकोषाध्यक्ष, पुरुषोत्तम यादवलाई सहमहामन्त्री तथा डा. ननिता यादव र सुरेन्द्र चौधरीलाई सहप्रवक्ताको जिम्मेवारी दिएको थियो।
खरेलले औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ लिएसँगै रास्वपा प्रवक्ताका रूपमा उनको जिम्मेवारीले पूर्ण औपचारिकता पाएको छ। अब पार्टीका राजनीतिक तथा समसामयिक धारणा सार्वजनिक गर्ने, सञ्चारमाध्यमसँग समन्वय गर्ने र पार्टीको सार्वजनिक सञ्चार रणनीतिलाई अघि बढाउने जिम्मेवारी उनको काँधमा थप स्पष्ट रूपमा आएको छ।








