काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले आज (मंगलबार) बिहान ७ बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।

ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडामा भदौ १५ गते दिउँसो खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रहेको छ ।

बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ । साँझ ६ देखि बिहान ४ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ भने दिउँसोको समयमा परिस्थितिको मूल्यांकन गरेर मात्र सवारी सञ्चालन गरिनेछ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशुली–मैलुङ्ग–स्याफ्रुबेसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ । साथै, जिल्लाका अन्य मुख्य राजमार्गहरू पनि बाढीका कारण भदौ १० गतेदेखि नै पूर्ण रूपमा अवरुद्ध रहेको जनाइएको छ ।

देशका विभिन्न मुख्य राजमार्गहरू पूर्णरूपमा अवरुद्ध