काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्राकृतिक विपत्तिको सामना गर्न सरकारलाई पूर्ण सहयोग गर्ने बताएका छन्।
पार्टीको विपद् व्यवस्थापनसम्बन्धी बैठकमा थापाले उद्धार र राहत कार्यमा देखिएका कमजोरी औँल्याउनु सरकारको आलोचना नभई प्रभावकारी कामका लागि सहयोग भएको बताए।
उनले कांग्रेसका केन्द्रीय सदस्य, सांसद तथा देशभरका निर्वाचित जनप्रतिनिधिलाई स्वेच्छिक रूपमा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न आग्रह गरे। विभिन्न समितिबाट संकलन भएको रकम पनि एकमुष्ट रूपमा राहत कोषमा बुझाइने उनले जानकारी दिए।
थापाले जटिल भौगोलिक क्षेत्रमा उद्धारका लागि आवश्यक स्रोत र प्रविधि नेपालसँग पर्याप्त नभए बाह्य सहयोग लिन संकोच गर्न नहुने बताए। साथै, विपद् व्यवस्थापनमा स्थानीय तहसँग प्रभावकारी समन्वय गर्नुपर्नेमा पनि उनले जोड दिए।
सभापति थापाले बाढी–पहिरो प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवस्था बुझ्ने र थप राहतका लागि पहल गर्ने समेत बताएका छन्।








