काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। शोको उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गरेका छन्।
उद्घाटन कार्यक्रममा उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी, रोजगारी र औद्योगिक विकाससँग जोड्दै सरकार र निजी क्षेत्रबीच सहकार्य तथा स्थिर र लगानीमैत्री नीति आवश्यक रहेको बताए। उनले विद्युतीय तथा स्मार्ट सवारीसहित नयाँ प्रविधिलाई अवसरका रूपमा उपयोग गर्दै नेपाललाई अटोमोबाइल प्रविधि, सेवा र उत्पादनको क्षेत्रीय केन्द्र बनाउनुपर्नेमा जोड दिए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले कमजोर बजार माग र व्यवसायीको घट्दो मनोबलप्रति चिन्ता व्यक्त गर्दै स्वदेशमै उद्योग स्थापना र रोजगारी सिर्जनामा जोड दिए। उनले नेपालमै स्पेयर पार्ट्स उत्पादनको सम्भावना खोज्नुपर्ने बताए।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटोमोबाइल क्षेत्र उद्योग, बैंकिङ, बीमा, रोजगारी र राजस्वसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै नीतिगत स्थिरता र कर प्रणालीमा सुधार आवश्यक रहेको बताए। उनका अनुसार क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १० लाखभन्दा बढी रोजगारी सिर्जना भएको छ भने राज्यलाई वार्षिक ९० अर्ब रुपैयाँभन्दा बढी राजस्व योगदान हुँदै आएको छ।
उप्रेतीले काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण तथा विद्युतीय सवारी, चार्जिङ पूर्वाधार, एसेम्बली र अटो पार्ट्स उत्पादनमा लगानी बढाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।








