उपेन्द्र यादवले दायर गरेको रिटमाथि आज सुनुवाइ
- जेष्ठ ७, २०८१
- 0
आफ्नो दल विभाजन गरेका सात सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सोमबार पेशी तोकिएको छ।
जसपा नेपाल छाडेका अशोक राईसहित सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदा मतदानमा र अरु संसदीय गतिविधिमा रोक लगाउन रिटमा माग गर्दै अध्यक्ष यादवले आइतबार रिट दायर गरेका हुन्। रिटमा सोमबार पेशी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।
दल छाडेका सांसदले प्रतिनिधिसभा सदस्यको पद गुमाइसकेको दाबी अध्यक्ष यादवले गरेका छन्। उनीहरुको मतबाट प्रधानमन्त्रीले विश्वासको मत पाए पनि बदर हुने उनले निवेदनमा जिकिर गरेका छन्।
यसअघि यादवले आफ्नो दल छाडेर गएकाहरूले दर्ता गरेको नयाँ दल जनता समाजवादी पार्टी दर्ता नगर्न आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए। रिटमा सुनुवाइ गर्दै सर्वोच्चले पार्टी दर्ता प्रक्रिया यथास्थितिमा राख्न निर्वाचन आयोगलाई अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।











