संसदीय छानविन समिति : कार्यदलको क्षेत्राधिकारमै अलमल, साँझसम्म कार्यादेशमा सहमति हुने दावी
- जेष्ठ ६, २०८१
- 0
सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच सहमति भएपनि कार्यदेश नटुंगिदा आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकको समय २ बजेलाई सारिएको छ ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै तीन घण्टा लामो छलफलपछि सत्ता पक्ष र प्रतिपक्ष संसदीय छानबिन तयार भएका थिए ।
समितिको कार्यदेश के हुने भन्ने विषयमा एमाले नेता एवंम कानुनमन्त्री पदम गिरीको नेतृत्वको कार्यदेश समितिले काम गरिरहेको बताइएको छ । कार्यदलमा रास्वपाका तर्फबाट सांसद शिशिर खनाल, नेपाली कांग्रेसका तर्फबाट सांसद जीवन परियार र नेकपा एमालेका तर्फबाट महेश बर्तौला सदस्यका रुपमा रहेका छन् ।
कार्यदेश कति फराकिलो बनाउने रास्वपा सभापति रवि लामिछानेको नाम जोड्ने कि नजोड्ने भन्दै काम गरिरहेको कानून मन्त्रालय स्रोतले बताएको छ ।
तर, समितिको क्षेत्राधिकार विषय पेचिलो बन्ने देखिएको छ । समितिको टीओआर (कार्यादेश) बनाउन बनेको कार्यदलमा सहमति जुट्न नसक्दा प्रतिनिधिसभा बैठक आज पनि अन्योलमा पर्ने देखिएको छ ।
कार्यदेश तयार नहुँदासम्म बैठक संचालन नगर्न आग्रह
विपक्षी दलहरूले संसदीय छानबिन समितिको टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई आग्रह गरेका छन् ।
सभामुखको सचिवालयका अनुसार विपक्षी दलहरू बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले सभामुखलाई भेटेर सो अनुरोध गरेका थिए । कार्यदलको बैठक कानुन मन्त्रालय सिंहदरबारमा बसेको छ ।
रवि लामिछानेलाई सुन्न तयार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने भएका छन् ।
आइतबार बिहान नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले संसद बैठकमा गृहमन्त्रीलाई बोल्न दिने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए ।
यद्यपी, समिति गठन नभएसम्म नियमित कामकाज अगाडि बढ्न नदिने निर्णय गरेको छ ।
कार्यदेशका विषयमा साँझसम्म सहमति हुने दावी
सहकारी ठगी प्रकरणलाई लिएर संसदीय छानबिन समिति गठनका लागि गठित कार्यदलको बैठक केही समयका लागि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आधा घण्टाको समय मागेपछि बैठक केही समयका लागि स्थगित भएको र सहमति नजिक पुगेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
उनले भने, शनिबारको सहमति अनुसार कार्यदलको बैठकमा समितिको कार्यदेश के हुने भन्नेबारे निरन्तर छलफल भइरहेको छ । विषगत र बुँदागत रुपमा टुंग्याउन उहाँहरू (कांग्रेस) ले केही समय माग्नुभएको छ । मेरो विचारमा एक आधा घण्टापछि बस्ने बैठकले थप निर्णय गर्ला । आज बेलुकासम्म यसलाई फिनिसिङ गर्छौ भन्ने लाग्छ,’
सहकारीमा देखिएका विद्यमान समस्याहरुका सम्बन्धमा संसदीय छानबिन समिति बनाउने सहमति भएसँगै समितिको कार्यदेश के हुने भन्नेबारे आइतबार बिहानदेखि निरन्तर छलफल भइरहेका हो ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको नेतृत्वको कार्यदलमा रास्वपाका रास्वपातर्फबाट सांसद शिशिर खनाल, नेपाली कांग्रेसका तर्फबाट सांसद जीवन परियार र नेकपा एमालेका तर्फबाट महेश बर्तौला सदस्यका रुपमा रहेका छन् ।
कार्यदेशको निष्कर्ष नटुंगिएसम्म प्रतिनिधि सभाको बैठकबारे अन्योल कायमै छ ।











