संसदीय छानविन समिति गठनमा कांग्रेस अडिग

news-details

नेपाली कांग्रेस संसदीय छानविन समिति गठन गर्नुपर्ने बटमलाइनमा अडिक देखिएको छ । सहकारीको रकम अपचलन सम्बन्धीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नताको आरोप लगाउँदै आएको कांग्रेसले यसबारे निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग कायम राखेको हो ।

कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले सहकारीमा उनको संलग्नताको प्रमाण रहेको जिकिर गर्दै सो सम्बन्धमा स्वतन्त्र र निष्पक्ष छानबिन होस् भन्ने सुनिश्चितताका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

बैठकले उक्त मुद्दा अब कांग्रेसको मात्र नभएर सम्पूर्ण जनताको चिन्ता, चासो र सरोकारको विषय भइसकेको उनले बताए । यसअघि यसै विषयमा आफ्नो मागको सम्बोधन नभई संसद् अन्त्य भएकाले शुक्रबार सुरु हुने संसद्को बैठकमा पनि सोही माग राख्ने प्रमुख सचेतक लेखकले जानकारी दिए ।

साथै कांग्रेसले केही दिनदेखि देशका विभिन्न ठाउँमा भएका आगजनी तथा डढेलोबाट धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । आगजनी तथा डढेलो नियन्त्रणका साथै विपद्को यस घडीमा क्षति पुगेका घरपरिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । साथै आगजनीमा परी मृत्यु भएका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *