इलाम-२ उपनिर्वाचन : उम्मेदवारहरुले चाहेको धर्मगुरुको आशीर्वाद

news-details

यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा चुनावी रापताप चलिरहेको छ । विगतका निर्वाचनभन्दा फरक परिस्थिति आकंलन गरिएको इलाम–२ मा यसपाली कसले बाजी मार्छ भनेर ठ्याक्कै अनुमान गर्न कठिन छ । चुनावी प्रतिस्पर्धामा रहेका मुख्य दल र स्वतन्त्र उम्मेदवारहरु आफ्नो चुनावी गतिविधिलाई तीव्रता दिइरहेका छन् ।

मत विभाजन हुने वा काटाकाट हुने अनुमान गरिएको यसपालीको उपनिर्वाचनमा सदाझंै किरात धर्मगुरु आत्मानन्द लिङदेन सेइङको निजी आश्रम रहेको माङसेबुङको लारुम्बा क्षेत्र विशेष चासोका साथ हेरिएको छ । चुनाव नजिकिएसँगै किरात धर्मगुरुको आशीर्वाद लिन र भेटदर्शन गर्न उम्मेदवारहरु धाइरहेका छन् । करिब ४ हजार ६ सय एकछापे ‘भोट बैंक’ मानिएको धर्म गुरुको क्षेत्रबाट उम्मेदवारहरुले ठूलो अपेक्षा गर्ने गरेका छन् ।

चुनाव नजिकिएसँगै केन्द्रीय नेताहरु पनि गुरुको निवास पुग्ने गरेका छन् । उपनिर्वाचनकै सिलसिलामा इलाम पुगेका कांग्रेस नेता डा.शेखर कोइरालाले गुरुलाई भेटेर कांग्रेसको अवस्थाबारे बताए । गुरु र कोइरालाबीच देशको अवस्थाबारे पनि मन्थन भएको थियो । भेटमा धर्मगुरु लिङ्देनले देशको अवस्था राम्रो नभएको, जनताले सास्ती भोगिरहनु परेको र धर्म संस्कृतिको क्षेत्रमा समेत प्रहार हुन थालेको गुनासो गरेका थिए ।

गिरिजाप्रसाद कोइराला तीन पटक आफूलाई भेट्न आएको स्मरण गर्दै लिङदेनले कोइरालालाई भनेका थिए, ‘गिरिजाप्रसाद पछि देशले जिम्मेवार अभिभावक पाएन । अब तपाइँले जिम्मेवारी लिनुपर्छ ।’

जवाफमा नेता कोइरालाले आफू यति बेला सबैभन्दा माथि देश र जनता छन् भन्ने अभियान बोकेर हिँडेको बताए । कोइरालाले सबै जातजातिको धर्म संस्कृति बचाउने कुरामा आफू अडिग रहेको र त्यसका लागि गुरु लिङदेनको आशीर्वाद लिन आएको बताएका थिए ।

डा.कोइरालापछि पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले गुरुसँग भेट गरेका छन् । कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगु र पूर्वमन्त्री तथा सांसद खिनु लङवालाई लिएर आश्रम पुगेका खनालले घुमाउरो पारामा सहयोगको याचना गरेका थिए । शीर्ष नेताहरु मात्र होइन उम्मेदवारहरु पालैपालो गुरु आश्रम धाइरहेका छन् । तर गुरुले कसैलाई पनि सहयोग गर्ने बचन दिएका छैनन् । उनी कुनै दल र नेतालाई खुलेर समर्थन जनाउँदैनन् । उनले अवस्था हेरेर निर्णय लिने गरेका छन् ।

नेताहरुले गुरु दर्शन गरे वा माङगेन्ना गरे शिर उँचो हुने र शिर नढल्ने धार्मिक विश्वास छ । किरात धर्मगुरु फाल्गुनन्दकै अवतार मानिने आत्मानन्द आफ्नो क्षेत्रमा राम्रो पकड जमाएर बसेको भए पनि गुरु निकटका मतदाताले गुरुकै आदेश पालना गरेर मत खसाल्ने गरेको स्पष्ट तथ्यांक छैन । किरात धर्म, संस्कृति जगेर्ना र आश्रम रहेको क्षेत्रमा पूर्वाधार विकासका काममा सघाएका नेताहरुप्रति बढी नरम हुनेगरेका गुरुले कसैलाई पनि मत दिन आदेश दिने गरेको थाहा नपाएको स्थानीय बताउँछन् । जसका कारण पनि उनी सबैका प्रिय बनेका छन् ।

अढाइ दशकदेखि सोही निर्वाचन क्षेत्रबाट विजयी हुँदै आएको स्वर्गीय सुवासचन्द्र नेम्बाङले गुरुकै आशीर्वादबाट परिणाम आफ्नो पक्षमा पार्दै आएको बताइए पनि त्यसमा सत्यता रहेको पाउन मुस्किल छ । गत स्थानीय तह निर्वाचनमा माङसेबुङ ५ बाट राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार नरेन्द्रकुमार राई प्यानलसहित विजयी भएका थिए । उनलाई कांग्रेस, माओवादी लगायतको साथ थियो । एमालेलगायत अन्य उम्मेदवार पराजित भएका थिए ।

विशेषगरी गुरुका अनुयायीहरुले उक्त क्षेत्रमा भइरहेको विकास निर्माणमा सघाइरहेका नेताहरुप्रति बढी झुकाव राख्ने गरेको पाइन्छ । दशकौंदेखि पिछडिएको उक्त क्षेत्रमा विकास निर्माणका कामहरु सोचे अनुरुप हुन सकिरहेका छैनन् ।
विश्वभर छरिएका किरात धर्मावलम्बीको मुख्य धार्मिक केन्द्र मानिएको माङ्सेबुङ विकासका हिसाबले पछाडि छ । पटक पटक सोही क्षेत्रबाट विजयी हुँदै आएका स्वर्गीय नेम्वाङको कार्यकालमा पनि भरपर्दो काम नभएको स्थानीयको गुनासा छन् । राजनीतिक दलका नेता–कार्यकर्ताले चुनावका बेला गुरुलाई ‘अलि बढी नै आदर’ गर्ने गरेको स्थानीयको अनुभव छ । गुरुको मन जित्न उम्मेदवारहरुले अनेक उपाय लगाउने गरेका छन् । मांगेना समिति र किरात धर्म तथा साहित्य उत्थान मञ्चलाई प्रभावमा पार्न उम्मेदवारहरुले अधिकतम प्रयोग गर्ने प्रयास गर्ने गरेका छन् ।

हरेक मंसिर १८ मा धर्मगुरु लिङदेनको जन्मोत्सवको औपचारिक कार्यक्रम उद्घाटन गर्न बर्सेनि देशका राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री, सांसदलगायत पुग्ने गरेका छन् । माओवादी सशस्त्र द्वन्द्वका बेला लारुम्बाबासीले चरम सास्ती व्यहोरेका थिए । तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएपछि गुरु र गुरुका अनुयायीहरु कांग्रेसप्रति नरम देखिए पनि सोही क्षेत्रबाट उम्मेदवार बन्ने गरेका नेम्वाङले फाल्गुनन्दलाई आफ्नो पहलमा राष्ट्रिय विभूति घोषणा गरेको भनेर मतदाता प्रभाव पार्ने गरेका थिए । तर यसपालीको परिस्थिति बिलकुलै भिन्न रहेको स्थानीय पत्रकार सचित राई बताउँछन् ।

हुन त धर्मगुरुप्रति सामीप्यता बढाउन उम्मेदवारहरुले विभिन्न गतिविधि गर्ने गरेका छन् । कांग्रेस उम्मेदवार डम्बर खड्काले गुरु र धर्मगुरुपत्नी साँवा पवित्रहाङमालाई बृहत् अभिनन्दन नै गरेका थिए । धर्मगुरुको ६८औं नुमाङगेन्ना तथा धर्मगुरुपत्नीको ६६औं जन्मोत्सवको अवसरमा भव्य समारोहबीच अभिनन्दन गरिएको थियो ।

विश्व शान्ति, मानव एकता, मानवप्राणी एवं सृष्टि जगतकै रक्षाको लागि महान अभियानमा सञ्चालन गरी मानवमा उच्च चेतना जगाई समाज रूपान्तरणको कार्यमा किरात धर्म, संस्कृति, भाषा, लिपि र साहित्यको प्रचारप्रसारमा पु¥याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको खड्काले बताए ।

गुरु आश्रम भएको आसपासमा किरात समुदायको बाक्लो बस्ती छ । आश्रम आसपास मदिरा, मासु, खैनी, चुरोट, सूर्ती सबै निषेध छ । २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पहिलो पटक आश्रम स्थल पुगेका थिए । त्यसपछि निरन्तर विशिष्ट व्यक्तिहरु आश्रम पुगिरहेका छन् । २०३४ देखि गुरु लिङदेन लारुम्बामा बसोबास गर्दै आएका छन् । जातीय, वर्गीय, लिंगीय, विभाजनका विरोधी गुरु शान्तिका प्रवर्धक मानिन्छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *