नेतादेखि कलाकारसम्मको उपस्थितिमा गणतान्त्रिक मञ्चको बनभोज कार्यक्रम सम्पन्न

news-details

वैदेशिक रोजगार व्यवसायीहरूको व्यापक उपस्थितिमा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले भक्तपुरको घ्याम्पेडाँडामा वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

मञ्चका अध्यक्ष धनलाल जैसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गणतन्त्रिक मञ्चका इञ्चार्ज, नेकपा माओबादीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामेश्वर राय यादवले मञ्चले आयोजना गरेको वनभोज कार्यक्रमले मनोरञ्जन, आपसमा भाइचारा सम्बन्ध र सद्भाव कायम गर्ने भन्दै आयोजक मञ्चलाई धन्यवाद दिए ।व्यवसायी एकता र सद्भावका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत सद्भाव र शुभकामना दिएको उनले जानकारी दिए । उनले मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगार व्यवसायीले दिएको योगदान राज्यले बिर्सन नहुने बताए । सरकारले रोजगार दिन नसकेका कारण बेरोजगार अवस्थामा रहेका युवायुवतीलाई वैदेशिक रोजगारव्यवसायीले विदेशमा भएपनि रोजगारी उपलब्ध गराएर सरकारलाई ठूलो सहयोग गरेको उनले बताए ।पूर्वमन्त्री यादवले आफू मन्त्री हुँदा इजाजतपत्र नवीकरणका लागि बाध्यकारी प्रावधानको रूपमा रहेको वार्षिक सय जना कामदार पठाउनुपर्ने बाध्यता हटाएर व्यवसायीको मुहार उज्यालो बनाएको भन्दै जुनसुकै पार्टीमा आस्था राख्ने भएपनि व्यवसायीहरू एकले अर्कोलाई थिचोमिचो नगर्ने र एकले अर्कोलाई सघाउने सोचले काम गर्नुपर्ने सुझाव दिए ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले संघले व्यवसायीका समस्या समाधानका लागि काम गरिरहेको भन्दै व्यवसायीका सबै संघसंस्थाबीच आपसी एकता बलियो हुनुपर्ने बताए । मञ्चका अध्यक्ष जैसीले मञ्च व्यवसायीका हक अधिकारका मुद्दामा सधैं उभिने, तर संघले बाटो बिराए खबरदारी गर्ने बताए । मञ्चका महासचिव कुन्छा दोर्जे दिमदोङले सञ्चालन गरेको कार्यक्रममा गीतकार तथा संगीतकार फुल कुमार बम्जन, लोक गायक श्याम रानामगर, गायिका सुमन थापा, संगीता सारू मगरलगायतका कलाकारले नेपालका विभिन्न भेग र क्षेत्रमा गाइने लोकगीत, लोक दोहोरी र आधुनिक गीतका विविध प्रस्तुति दिएर कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष दिल प्रसाद पोखरेल, प्रेमबहादुर कटुवाल, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा महिला व्यवसायी सिता देवकोटा, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष जनक रावल, वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष हरि बहादुर पाण्डे क्षेत्री, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका पूर्वअध्यक्ष नरेन्द्र ढकाल, संघका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, एशोसिएसन तथा मञ्चका वर्तमान पदाधिकारीहरु, पत्रकारहरुका साथै करिब ४ सय जनाको हाराहारीमा उपस्थिति रहेको वनभोज कार्यक्रमका संयोजक केदारनाथ अधिकारीले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया