इलाम-२ उपनिर्वाचन : २० जनाले गराए उम्मेदवारी दर्ता
- चैत्र २४, २०८०
- 0
आउँदो वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार मनोनयन दर्ताको लागि तोकिएको समयमा २० जनाले दर्ता प्रमाणपत्र बुझेका छन् ।
शनिवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र व्यक्तिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन । मनोनयन दर्ताका लागि साँझ ५ बजेभित्र पुगेका उम्मेदवारहरूको ६ बजेसम्म उम्मेदवारी दर्ता गरिएको छ ।
इलाम २ मा नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बर खड्का, नेकपा एसबाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेश्नल अर्गनाइजेशनका मनीबहादुर लिम्बूले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले जानकारी दिए ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू, अर्का स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, राप्रपाबाट लक्ष्मी गुरुङ, राप्रपा नेपालबाट गणेश बहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन दलबाट जयवन्त विक्रम शाह, नेपाली जनता दलबाट रेशम बहादुर सुनार, नेश्नल रिपब्लिकन पार्टीबाट धनराज रानामगरको उम्मेदवारी दर्ता भएको छ भने अन्य स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।











