अस्थायी करार तथा ज्यालादारी श्रमिक संघको हुलाक विभागिय समितीको स्थापना दिवस सम्पन्न

news-details

अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ अन्तर्र्गत हुलाक बिभागिय कार्यसमितिले आफ्नो ११औं स्थापना दिवस सम्पन्न गरेको छ ।

संघीय मामीला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीको प्रमुख आतिथ्यता तथा गोश्वारा हुलाक सेवा विभागका विभागिय अध्यक्ष अर्जुन रानामगरको सभापतित्वमा ११ औं स्थापना दिवस भव्यताका साथ सम्पन्न भएको हो ।

 

कार्यक्रमलाई संबोधन गर्दै संघीय मामीला तथा सामान्य प्रशासन मन्त्री जोशीले लामो समयदेखि सरकारी संस्थामा काम गरेका अस्थायी करार, ज्यालादारी कर्मचारीहरुको विषयमा सरकारले गम्भीरताका साथ सोच्नु पर्ने बताए ।

हुलाकी र हल्काराको दरबन्दी कटौती गर्ने भन्ने मन्त्रीपरिषद्को निर्णय गलत रहेको बताउँदै उनले त्यसबारे संचार तथा सुचना प्रविधि मन्त्रालय र क्याविनेटमा पनि छलफल गर्ने र ज्यालादारी अस्थायी कर्मचारीहरुका लागि कुनै न कुनै व्यवस्था गर्नका लागि आफ्नो तर्फबाट पुर्ण सहयोग रहने समेत प्रतिवद्धता जनाएका छन् ।

त्यस्तै अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी श्रमिक संघका निवर्तमान अध्यक्ष बिमला आचार्यले भर्खरै मन्त्रीपरिषद्ले गरेको हुलाकी तथा हल्काराको दरबन्दी कटौती गर्ने निर्णय तत्काल खारेज गर्नुपर्ने बताइन् ।

कसैलाई थाहै नदिई मन्त्रीपरिषद्ले एकलौटी निर्णय गर्दा लामो समयदेखि काम गर्दै आएका श्रमिकहरु मर्कामा परेको हुँदा मन्त्रीपरिषद्ले तत्काल निर्णय खारेज नगरे अत्यावश्यक सेवालाई ठप्प गर्दै देशव्यापी रुपमा आन्दोलन गर्ने समेत चेतावनी दिएकी छिन् ।

अस्थायी कर्मचारीहरुलाई तत्काल नेपाल सरकारले तोकेको तलब दिनुपर्ने, ठेकेदारी प्रथा हटाउदै कार्यलयबाटै नियुक्ति दिने व्यवस्था गरिनुपर्ने सातै प्रदेशका अस्थायी कर्मचारीलाई सामाजिक सुरक्षामा समावेश गरिनुपर्ने लगायतका माग उनले राखेकी छिन् ।

त्यस्तै निजामति कर्मचारी आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले सरकारले अस्थायी करार, ज्यालादारी हुलाकी हल्कारा जस्ता कर्मचारीहरुलाई वेवास्ता गरेको भन्दै कम्तीमा संघीय निजामती ऐनमा अनिवार्य रुपमा समावेश गरिनुपर्ने बताए ।

लामो समयदेखि सरकारी सेवा गर्दै आएका तर सरकारले भने अस्थायी करार कर्मचारीलाई सधै तल्लो दर्जामा राख्ने गरेको उनको भनाई छ ।

त्यस्तै कार्यक्रममा संघका महासचिव यदुनाथ न्यौपानेले अस्थायी , करार तथा ज्यालादारी कर्मचारीले कम्तीमा खाईरहेको रोजगारबाट बञ्चित नहुनुपर्ने बताए ।

कार्यक्रममा सरकारी संस्थामा कार्यरत अस्थायी करार तथा ज्यालादारी श्रमिकहरुको विषयमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले ती कर्मचारीहरुको हकहितको विषयमा आ–आफ्नो धारणा राख्दै मन्त्री जोशीको ध्यानाकार्षण गराएका थिए ।

त्यस्तै कार्यक्रम संचालन गोश्वारा हुलाक सेवा विभागका विभागीय सचिव बानुविलास दाहालले गरेका थिए भने कार्यक्रमलाई सफल बनाउन हुलाक सेवा विभागका विभागीय कार्यसमितिहरुको विशेष भुमिका रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया