राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखमा पार्टीका सांसद इन्दिरा रानामगरलाई उठाउने निर्णय गरेको छ ।
शुक्रबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । उपसभामुखको उम्मेदवारका रुपमा पार्टीका सांसद सोविता गौतम प्रस्तावक रहने भएकी सिछन ।
झापाकी रानामगर समानुपातिक सांसद हुन । उपसभामुखमा यसअघि सांसद सोविता गौतमको चर्चा भए पनि पार्टीले भने मगरलाई अघि सारेको छ ।
राना सन् २०१७ मा बीबीसीको प्रेरणादायी महिलाको सूचीमा परेकी थिइन् । उनी बन्दी सहायता नेपालकी संस्थापक अध्यक्षसमेत हुन् । २०२७ सालमा झापाको शनिश्चरे–६ मा जन्मेकी इन्दिराले समाजसेवा बापत सन् २००५ मै अशोक फेलो जितेकी थिइन्।
उपसभामुखका लागि निर्वाचन शनिबार हुँदैछ, आज (शुक्रबार) उपसभामुखको उम्मेदवारी दिनुपर्नेछ । सत्ता गठबन्धनले उम्मेदवारको टुङ्गो लगाएसँगै प्रतिपक्ष दलहरु पनि उपसभामुखको उम्मेदवार टुङ्गो लगाउन बैठक बसिरहेको छ ।








