सरकारले आन्तरिक उडानका सबै विमानहरूको प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको छ ।
पोखरामा आज बिहान भएको यती एयरको एटीआर विमान दुर्घटनापछि बालुवाटारमा बसेको मन्त्रिपरिषद् आकस्मिक बैठकले उक्त निर्देशन दिएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
यात्रुका आफन्तलाई यकिन जानकारी दिन विमानस्थलमा कल सेन्टर स्थापना र आवश्यक सहजीकरणको व्यवस्था मिलाउने निर्णय पनि भएको उनले बताए ।
दुर्घटनामा मृतकप्रति श्रद्धाञ्जली जनाउँदै मन्त्रिपरिषद् बैठकले शोकसन्तप्त परिवारजनमा समवेदना जनाएको छ । विमान दुर्घटनाको शोकमा भोलि एक दिन सार्वजनिक बिदा दिइएको छ ।
५ सदस्यीय जाँच आयोग गठन
सरकारले पोखरामा आज विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ ।
मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटनाहरु दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरेको हो ।
आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहेको सरकारका प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
आयोगका सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला (अवकाशप्राप्त उपरथी) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापा छन । आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन ।
आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ । आयोगले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ । प्रतिवेदन प्राप्त भएलगत्तै सरकारले सुझाव कार्यान्वयनको व्यवस्था मिलाउने प्रवक्ता पौडेलले बताए ।
गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गरिएको हो ।








