बागमती प्रदेशको उपसभामुखको लागि तीनजना नेतृहरुले उम्मेदवारी दिएका छन् ।

माघ २ गते हुने निर्वाचनको लागि सत्ता गठबन्धनको नेकपा एमालेकी अप्सरा चापागाईंले उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा छन् ।

नेपाली कांग्रेसको तर्फबाट सुना परियारले उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा उत्तम जोशी र समर्थक याङकिला शेर्पा रहेका छन् ।

यसैगरी नेपाल मजदुर किसान पार्टीको तर्फबाट गिता काफ्लेले उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा सुरेन्द्रराज गोरसाईँ र समर्थकमा सृजना सैजू रहेकी छन् ।

प्रदेशसभाको उपसभामुखको निर्वाचन आगामी माघ २ गते अपराह्न ३ बजेको समय निर्धारण गरिएको निर्वाचन अधिकृत तथा प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

बागमती प्रदेशसभाको शुक्रबार बसेको दोस्रो बैठकमा नवनिर्वाचित सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको उपसभामुख पदको निर्वाचन गर्न प्रदेशसभाका प्रमुख सचिव खड्कालाई निर्देशन दिएका थिए ।

बागमती प्रदेशसभाको अर्को बैठक माघ २ गते अपराह्न ३ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।