नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भूसाल आज शुक्रबार नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्ने भएका छन ।
भूसाल शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रमकाबीच एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्न लागेका हुन । एमालेमा आन्तरिक संघर्ष चर्किदा भूसाल माधव नेपाल खेमामा थिए । तर नेपालले एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गरेपछि भूसाल भने एमालेमै रहेका थिए ।
गत २३ असोजमा एमाले परित्याग गरेका भूसाल मंसिर ४ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारको रुपमा प्रतिस्पर्धा गरेका थिए । निर्वाचनमा उनलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो । तर एमालेका छबिलाल विश्वकर्मासँग उनी पराजित भएका थिए ।
एकीकृत समाजवादीमा फर्किएका भूसालले कुन जिम्मेवारी पाउनेछन भन्ने खुलिसकेको छैन ।








