प्रदेश १ मा आज नयाँ सरकार बन्दै छ ।

सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले १७ पुसबाट आज आइतबार साँझ ५ बजेसम्मका लागि समय दिएका छन् ।

सरकार गठनका लागि प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ ।

एमाले प्रदेश १ का संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख समक्ष दाबी पेश गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ । त्यसको लागि सत्तारुढ दलको शिर्ष नेतृत्वमा सहमति बनिसकेको स्रोतको दाबी छ ।

९३ सदस्यीय प्रदेश १ मा सरकार गठनका लागि ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्दछ । एमाले संसदीय दलका नेता कार्कीले एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक सांसद गरी ६० जनाको समर्थन पेश गर्न लागेको बुझिएको छ ।

प्रदेश १ मा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एसका ४ र जनता समाजवादी पार्टीका १ जना गरी ९३ जना सांसद रहेका छन् ।