कर्णाली प्रदेशमा प्रदेश प्रमुख तिलक परियारले सरकार गठनका लागि आह्वान गरेका छन । यही पुस २७ गतेभित्र सरकार गठन गर्न प्रदेश प्रमुख परियारले आज (बिहीबार) आह्वान गरेका हुन ।
सरकार गठनका लागि कुनै पनि दलको स्पष्ट बहुमत प्राप्त हुने नदेखिएकाले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई पुस २७ गते बुधबार साँझ ५ बजेसम्म दाबी पेश गर्न आह्वान गरिएको छ ।
प्रदेश प्रमुख परियारले कर्णालीमा दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभा सदस्यले दाबी पेश गरेपछि मुख्यमन्त्रीमा नियुक्त गर्नेछन । ४० सदस्यीय रहेको कर्णाली प्रदेशमा नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एमाले)का १०, नेकपा (एकीकृत समाजवादी), राप्रपा र स्वतन्त्र गरेर एकरएक जना प्रदेशसभा सदस्य रहेका छन् ।
केन्द्रमा सत्ता समिकरण फेरबदल भएसँगै कर्णालीमा पनि एमाले र माओवादी केन्द्रको सरकार बन्ने छ । यद्यपि, सरकारको नेतृत्व कसले लिने भन्ने विषयमा भने टुङ्गो लागेको छैन । एमाले र माओवादीले सरकारले नेतृत्व लिनुपर्ने दाबी गर्दै आइरहेका छन् । कर्णाली सरकार गठनका लागि २१ जना प्रदेशसभा सदस्यको बहुमत चाहिन्छ । एमाले र माओवादीका २३ जना प्रदेशसभा सदस्य रहेका छन् ।








