नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा सामेल हुन आग्रह गरिरहँदा अध्यक्ष नेपालको यस्तो अडान बाहिर आएको हो ।

आज (सोमबार)बाट काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्युरो बैठकमा आफ्नो धारणा राख्दै अध्यक्ष नेपालले राष्ट्र र जनताको हितलाई केन्द्रविन्दुमा राखेर आफ्नो पार्टी अघि बढ्ने स्पष्ट पारे ।

उनले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठीक गरिरहेको उल्लेख गर्दै कसैको सामु लत्रने पक्षमा नरहेको बताए । मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे वस्तुनिष्ठ समीक्षा गरेर आफूहरू अघि बढ्ने तर आरोप प्रत्यारोपको राजनीति गर्ने पक्षमा नरहेको उनको भनाइ छ ।

अध्यक्ष नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी भित्रै रहेर ती समस्या समाधान गरेर अघि बढ्ने आफूहरूको प्रयास असफल भएपछि नयाँ पार्टी खोलेर अघि बढ्नु परेको तथ्य बुझ्न पनि पार्टीका नेता तथा कार्यकर्तालाई सचेत गराए ।

उनले भने, ‘‘संसद्को चुनावभन्दा पहिले २०७७ साल पुस ५ गतेको दिनमा प्रतिनिधिसभाको विघटन भयो । त्यसपछि नेपालको राजनीतिले नाटकीय रूप लियो । त्यसभन्दा पहिले नेकपा एमालेभित्र अन्तरसंघर्ष चलिरहेको थियो । त्यो अन्तरसंघर्षलाई त्यही भित्र बसेर हल गर्ने हाम्रो चाहना थियो । तर त्यो हुन सकेन । यो आरोप प्रत्यारोप गर्ने बेला पनि होइन । कसैसामू लत्रिनु परेको पनि छैन ।’’

अध्यक्ष नेपालले आफूहरूबाट केही गल्ती भए सच्चिन तयार रहेको उल्लेख गर्दै कसैलाई पनि पानी माथिको ओभानो बन्ने प्रयास नगर्न पनि चेतावनी दिए ।

आजबाट सुरु भएको बैठकमा नेताहरूले सरकारमा पार्टी सहभागी हुने वा नहुने भन्ने विषयमा पनि आ–आफ्नो धारणा राख्ने एजेण्डा समेत तय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । त्यसैगरी, बैठकमा निर्वाचनको समीक्षा, पार्टीको भावी नीति र कार्यक्रमबारे पनि छलफल हुने नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ ।