काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारामा बस्दै आएका सुकुम्बासी बस्ती हटाउन आवश्यक सहयोग एवम् समन्वय गर्न गृह मन्त्रालयसँग अनुरोध गरेको छ ।

महागनरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गृह मन्त्रालयलाई पत्र पठाएर आवश्यक सहयोग र समन्वय गर्न अनुरोध गरेका हुन ।

महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका अनाधिकृत संरचना हटाउने कार्य अभियानकै रुपमा अगाडि बढाउनुपर्ने महानगरको ठहर छ ।

यसका लागि सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवम् समन्वय हुन महानगरले अनुरोध गरेको छ ।

महागनरका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले पत्रमा भनिएको छ, ‘‘महानगर भित्रका विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचना हटाउने कार्य अभियानकै रूपमा अगाडि बढाउनु पर्ने देखिन्छ । जसको लागि सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवम् समन्वय हुन अनुरोध गरिन्छ ।’’

बागमती सभ्यता एकीकृत विकास परियोजनाको अनुरोधमा त्यहाँको बस्ती हटाउन प्रयास गरिए पनि सफल नभएको महानगरको भनाइ छ ।

‘‘थापाथलीस्थित बागमती दनी किनारमा अव्यवस्थित अनाधिकृत रुपमा रहेको संरचना हटाइ सो क्षेत्रको संरक्षण एवम् सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडि बढाउन बागमती सभ्यता एकीकृत विकास परियोजनाको अनुरोध भइ आएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडि बढाइएको भएता पनि सफल हुन सकेको अवस्था छैन ।’’ पत्रमा उल्लेख छ ।

सो बस्ती हटाएर सौन्दर्यीकरणको काम तत्काल सुरू गर्नुपर्ने भएकाले संरचना हटाउन आवश्यक सहयोग एवम् समन्वयका लागि अनुरोध गरेको हो ।

सुकुम्बासी बस्ती हटाउने कार्यमा सहयोग गर्न गृहसँग काठमाडौं महानगरको अनुरोध