सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक आज पुनः बस्दै छ । शनिबार बसेको बैठक बिनानिष्कर्ष सकिए पछि आज पुनः बैठक बस्न लागेको हो ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक गठबन्धनभित्रका दलहरूमध्येबाट कसले पहिला सरकार बनाउने भन्ने विषयमा छलफल भए पनि निष्कर्षबिना सकिएको थियो ।
बैठकपछि सञ्चारकर्मीसँग सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको बताएका थिए । उनले प्रधानमन्त्री को पहिला बन्ने भन्ने बारेमा आज बैठक बसेर टुंगो लगाइने जानकारी दिए ।
सत्ता समिकरणका कारण गठबन्धन दलहरु एकमत हुन नसक्दा समहति अझैं जुटिसकेको छैन् । दलहरु निरन्तर छलफमा जुटेपनि प्रधानमन्त्रीका लागि कांग्रेस र माओवादीको मुख्य दाबीका कारण सहमति जुट्न सकेको छैन ।
कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रबाट पुष्पकमल दाहाल पहिलो कार्यकालमै प्रधानमन्त्री बन्न चाहेका कारण भागबण्डा टुंगिन कठिन भएको बताइएको छ ।
सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई आइतबार आज बेलुका ५ बजेसम्मको समय दिएकी छन् ।








