नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको निर्वाचन यहि पुस १३ गते हुने भएको छ ।

संसदीय दलको नेताको विषयमा सहमती नजुटेपछि पुस १३ गते निर्वाचन तय भएको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन समितिले जनाएको छ ।

समितिले बिहीबार निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै पुस १३ गते बागमती प्रदेशको कार्यालय हेटौंडामा निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो ।

निर्वाचन समितिका संयोजक चन्द्र महर्जनले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै पुस १२ गते मतदाता नामावली प्रकाशन, सोहि दिन दिउँसो ४ बजे अन्तिम नमावली प्रकाशन गर्ने, पुस १३ गते बिहान १०ः३० बजे उम्मेदवारको नामावली प्रकाशन तथा सोहि दिन दिउँसो २ बजेबाट ३ बजेसम्म मतदान कार्यक्रम गरि मतपरिणाम सार्वजनिक गर्ने जनाएका छन् ।

संसदीय दलको नेताको लागि नुवाकोट–२ को २ बाट प्रदेशसभामा निर्वाचित बहादुर सिं लामा र मकवानपुर–२ को २ बाट निर्वाचित इन्द्रबहादुर बानियाँले दाबी गर्दै आएका छन् । ४ मंसिरमा भएको निर्वाचनमा बागमतीमा कांग्रेसले प्रत्यक्ष र समानुपातिकसहित गरेर ३७ सिट प्राप्त गरेको छ ।

लामा कांग्रेसको केन्द्रीय सदस्य हुन् भने बानियाँ कांग्रेस बागमती प्रदेशका सभापति हुन् । लामा र बानियाँ दुबै पार्टी सभापति शेरबहादुर देउवा समूहका भएपनि उक्त समूहबाट लामा नै संसदीय दलको आधिकारिक उम्मेदवार हुने निश्चित भएको स्रोतको दावी छ ।

लामा आधिकारिक उम्मेदवार हुने संकेत पाएसँगै देउवा इतर समूहसँग पनि नजिकिने प्रयास गरिरहेका बानियालाई थप चुनौती आइपरेको छ । वाग्मती प्रदेशसभामा देउवा इतर समूहका प्रदेशसभा सदस्य न्यून संख्यामा रहेका हुदा दुवैतिर खुट्टा हाल्ने प्रयासमा रहेका बानियासँग देउवा समूहका प्रदेशसभा सदस्यहरु रुष्ट बन्न थालेका छन । जसका कारण देउवा समूहबाट लामाको दावेदारी थप बलियो बन्दै गएको छ ।

यसअघि प्रतिनिधीसभा सदस्य रहिसकेका लामा बागमती प्रदेशको मुख्यमन्त्री बन्नकै लागि केन्द्रबाट प्रदेशमा झरेका हुन । पार्टीमा अवसरबाट सधै बञ्चित बनाइदै आएका लामालाई नै संसदीय दलको नेता बनाउन देउवा समूह सकारात्मक बनेसँगै उक्त समूहका प्रदेशसभा सदस्यहरु एकजुट बनेका छन ।

यता बागमती प्रदेशसभाको अघिल्लो कार्यकालमा कांग्रेस संसदीय दलको नेता भइसकेका देउवा समूहकै बानियाँ यो पटक पनि आफ्नो दाबेदारी स्वभाविक रहेको बताउँछन् । बानियाँ यसअघि संविधानसभा सदस्य हुँदै संघीय सरकारको गृह र पर्यटन राज्यमन्त्री भइसकेका छन्।

तथापी पटक पटक अवसरमा पुगेको, अघिल्लो कार्यकाल संसदीय दलको भूमिकामा फितलो देखिएको र गत स्थानीय निर्वाचन तथा आम निर्वाचनमा खेलेको भूमिका सन्तोषजनक नभएको भन्दै पार्टीभित्रै आलोचना खेपिरहेका बानिया र कहिल्यै अवसर पाउन नसकेका र कुनै विवादमा नपरेका लामाबीचको भिडन्तले कांग्रेस बाग्मती प्रदेशको संसदीय दलको निर्वाचन थप रोचक बन्न पुगेको छ ।