काठमाडौं/ सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवाले स्मरण विधामा विश्व रेकर्ड राखेका नेपालका मेमोरी किङ्ग उपनामले परिचित अर्पण शर्मालाई बधाई तथा शुभकामना दिएका छन्।
उनले १ मिनेटमा ८३ वस्तुको क्रमश स्मरण गरेर विश्व रेकर्ड राखेका थिए। विश्व रेकर्ड कायमपछि प्रधानमन्त्रीलाई भेट्न पुगेका शर्मालाई बधाई दिँदै देउवाले स्मरण क्षमताको विकासमा सबै नेपालीलाई सहयोग गर्न आग्रह गरेका थिए।
शर्माले आफूले स्मरण शक्ति विकास गर्ने तालिमबाट विद्यार्थीलाई आफ्नो सीप स्थानान्तरण गर्न सहयोग पुर्याउने बताउँदै यो शक्ति आफ्नो ध्यान र साधनाको उपलब्धी भएको बताएका छन्। साथै आगामी दिनमा स्मरणका क्षेत्रमा थप विश्व रेकर्ड कायम गर्ने उनको अठोट छ।

शर्माले यस अघि सन् २०१५ मा १ मिनटमा ४२ वस्तुको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाएका थिए । उनले भने, “यो विश्व रेकर्डको प्रमाण पत्र मेरो मात्रै नभई सम्पूर्ण नेपालीको भएको महसुस गर्दै आगामी दिनमा अझै विश्व रेकर्ड राखेर नेपालको नाम विश्व सामु फैलाउने बाचा गर्दछु ।”








