राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी शनिबार बिहान स्वदेश फर्किएकी छन्।
राष्ट्रपति भण्डारीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिना, मन्त्री तथा उच्च पदस्थ सरकारी अधिकारी विमानस्थल पुगेका थिए।
महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी कात्तिक २१ गते सोमबार आइसल्याण्डतर्फ प्रस्थान गरेकी थिइन्।
भ्रमणका क्रममा उनले आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको ‘रेक्याभिक ग्लोबल फोरम’ (वुमन लिडर्स) मा विशेष सम्बोधनसमेत गरिन्।
सोही कार्यक्रममा राष्ट्रपति भण्डारीलाई ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ प्रदान गरिएको थियो।








