काठमाडौं । देशका विभिन्न स्थानमा आएको बाढी र पहिरो जस्ता विपद्का कारण मुख्य राजमार्ग र सडक खण्डहरूमा आवागमन प्रभावित भएको छ ।
नेपाल प्रहरीले आज बिहान ६ बजेसम्म सार्वजनिक गरेको विवरण अनुसार गण्डकी र कर्णाली प्रदेशका केही सडक खण्डहरू अझै पूर्ण तथा आंशिक रूपमा अवरुद्ध रहेका छन् ।
गोरखा जिल्लाको आरुघाट गाउँपालिकामा गत असोज २५ गते बिहान ५ः३० बजे गएको बाढीका कारण सडक सञ्जालमा क्षति पुगेको छ ।
आरुघाट गाउँपालिका वडा नं. २, ३ र सोही गाउँपालिकाको वडा नं. ९ नयाँपुल क्षेत्रमा बाढीका कारण सोतीमा रहेको फलामे पुल र गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
त्यस्तै, आरुघाट गाउँपालिका वडा नं. ९ नयाँपुलस्थित गोरखा आरुघाटबाट धादिङ जोड्ने सडक खण्डमा भने हाल साना सवारी साधन मात्र सञ्चालनमा आएका छन् ।
पहिरोका कारण कर्णाली राजमार्ग प्रभावित भएको छ । सुर्खेतको बराहताल गाउँपालिका वडा नं. ७ औलिसेमा पहिरोका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग हाल एकतर्फी रूपमा मात्र सुचारु भएको ।








