तिहारको मध्य समय तिहार आएसँगै फुङ्लिङ नगरपालिका–४ का उशन फुरुम्बूको व्यस्तता बढेको छ । तिहारका लागि अल्लोको टोपीको माग बढेको छ । माग धान्न अहिले अल्लोको धागो खेलाउन दैनिकी बनेको छ ।

फुरुम्बु बिहानैदेखि रातिसम्म कपडा सिलाउने मेसिनमा अल्लोको टोपी सिलाउनुमा व्यस्त छन । मेसिन चलाउनु, धागो र कैँची खेलाउनु उनको पुर्ख्यौली पेसा भने होइन । तीन चार महिना अगाडि मात्र यी काम उनले सिकेका हुन ।

उनकी श्रीमती आशा लिम्बूले ताप्लेजुङमा पहिलोपटक उत्तम अल्लो कपडा उद्योग सञ्चालनमा ल्याएकी छिन । लिम्बू आफैँले अल्लोको धागो बनाएर कपडा बुन्थिन । विस्तारै अल्लोको कपडा उत्पादन हुनथाल्यो । फुरुम्बुले उत्पादन भएको अल्लोको कपडा ढाकाको टोपी बुन्न सिक्न थाले । सिकेको चार पाँच महिनामा राम्रो टोपी सिलाउन थाले ।

अहिले उनी माग आएको अल्लोको टोपी सिलाउनमा व्यस्त छन । उनले भने, “अगाडि सिलाएको टोपी बिक्री भइसक्यो । अहिले मागअनुसारको टोपी सिलाउँदै छु ।” अल्लोको कपडाको टोपी रु छ सयदेखि एक हजारसम्ममा बिक्री गर्दै आएको उनले बताए । तिहारको विशेष भाइटीकाका लागि अल्लोको टोपीको धेरै माग आएको छ ।

बजारमा देउसीभैली कार्यक्रम चलिहरेको छ तर फुरुम्बु भने अल्लोको टोपी सिलाउनमै व्यस्त छन । उनलाई देउसीभैलो कार्यक्रम हेर्न बाहिर निस्कनसम्म फुर्सत छैन ।

यता ढाकाको टोपीको व्यापार भने घटेको छ । फुङ्लिङ नगरपालिका–४ का ताप्लेजुङ ढाका पसल सञ्चालक कुमार येङ्देनले अघिल्लो वर्षको तिहारमा एक हजार ४० थान ढाकाको टोपी बिक्री गरे।

यस वर्षको तिहार मध्य समय भएको छ तर येङ्देनले अहिलेसम्ममा एक सय थान मात्र टोपी बिक्री गरेका छन । दसैँ तिहारमा विगतमा जस्तो ढाकाको टोपीको व्यापार नभएको फुङ्लिङ–७ अवस्थित सोनी ढाका कपडा उद्योगका कार्यरत एक उद्यमीले बताए ।

लामो समयदेखि ढाकाको टोपी प्रयोग गर्दै आएका उपभोक्तामा अल्लोको कपडा रोजाइमा पर्न थालेको फुङ्लिङ–५ का विक्रम लिम्बूले बताए । उनले भने, “उपभोक्ता जहिले पनि नयाँ वस्तुको खोजीमा हुन्छन् ।

ढाकाको टोपी विगतदेखिनै प्रयोगमा छ । अल्लोबाट बनेको टोपी भर्खरदेखि प्रयोगमा आउँदै छ । ताप्लेजुङमा अल्लोको टोपी प्रयोगमा आउन थालेको धेरै समय भएको छैन । त्यसैले पनि उपभोक्ताको रोजाइमा पर्न थालेको पाइन्छ । -रासस