आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशन गरिंदैछ । निर्वाचन आयोगले मनोनयन दर्ता गरेका उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशन गर्न लागेको हो ।

हिजो प्रकाशित नामावलीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारका लागि आज १० वजे देखि १ बजेसम्मको समय दिइएको आयोगले जनाएको छ । आज १ वजेदेखि २ वजेसम्म अन्तिम नामावली प्रकाशित हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

यसअघि हिजो आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको लागि मनोनयन दर्ता गरेका उम्मेदवार विरुद्ध परेको उजुरी उपरको छानबीन सकेर उम्मेदवारहरुको नामावली प्रकाशित गरेको थियो ।

यसैबीच मनोनयनपत्रको जाँचबुझ गर्ने समयसीमाभित्र स्थानिय तहको निर्वाचन खर्च नबुझाएका उम्मेदवारले तिर्नुपर्ने जरिवाना रकम बुझाउने व्यक्तिको मनोनयन कायम गर्न सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ ।

अन्तिम नामावली प्रकाशन भएलगत्तै बुधबार नै उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।

पार्टीका आधिकारिक उम्मेदवार र स्वतन्त्र उम्मेदवारलाई बुधबार नै चिन्ह दिनेगरी आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ ।