निर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम भएको जनाएको छ ।

शुक्रबार आयोगले विज्ञप्ति जारी गर्दै मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पूरा हुने ८८ लाख ४७ हजार ५७९ महिला, ९१ लाख ४० हजार ८०६ पुरुष र १८५ जना अन्य गरी कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम भएको जनाएको छ ।

यसैगरी, मतदाता सङ्ख्याका आधारमा आयोगले १० हजार ८९१ मतदाता स्थलअन्तर्गत २२ हजार मतदान केन्द्र रहने गरी मतदान केन्द्र निर्धारण गरेको जानकारी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिए ।

आयोगका अनुसार सबभन्दा धेरै मतदाता मोरङमा छन् । त्यहाँ ७ लाख ३५ हजार ५२५ मतदाता छन् । झापामा ६ लाख ६३ हजार ३११ र काठमाडौंमा ६ लाख ५२ हजार १२६ मतदाता छन् ।

सबभन्दा कम भने मनाङमा ६ हजार ७७९ मतदाता छन् । मुस्ताङमा १० हजार ९५७ र डोल्पामा २२ हजार ७७४ मतदाता छन् ।

यस्तै प्रदेशगत रुपमा सबभन्दा धेरै बागमतीमा ३४ लाख ७१ हजार ४९२ मतदाता छन् भने सबभन्दा कम कर्णाली प्रदेशमा १० लाख ८ हजार ४०३ मतदाता छन् ।

आयोगका अनुसार सबैभन्दा बढी मोरङमा ८३९, काठमाडौंमा ७६७ र झापामा ७६६ मतदान केन्द्र कायम गरिएको छ भने सबैभन्दा कम मनाङमा २८, मुस्ताङमा ३९ र रसुवामा ५२ मतदान केन्द्र कायम गरिएको छ ।