पर्साको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवारमा शिफारिस भएपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य टेकबहादुर शाक्यले चुनावी गतिविधिलाई तिव्रता दिएका छन ।

उम्मेदवारमा शिफारिस भएसँगै शाक्यले उक्त क्षेत्रका जनतासँगको भेटघाट तथा छलफललाई तिब्रता दिएका हुन । शाक्य अहिले पर्सा क्षेत्र नम्बर ४ का विभिन्न स्थानहरुमा पार्टीको संगठन बिस्तारदेखि पार्टी प्रवेश कार्यक्रमहरुमासमेत व्यस्थ रहेका छन ।

पर्सामा आफ्नो बेग्लै छवी र चर्चा कमाएका शाक्य जनताको घरदैलोमै पुगेर सल्लाह, सुझाव र सहयोगको लागि भेटघाट तथा छलफल गरिरहेका छन । सो क्रममा उनले स्थानीयका समस्या र यसअघि निर्वाचित जनप्रतिनीधिले गरेका कामहरुको बारेमा जानकारी पनि लिएका छन् ।

यसअघि निर्वाचित जनप्रतिनिधिहरुले कुनै काम नगरेको र जनताको सुखदुखमा साथ नदिएको स्थानीयले दुखेसो पोखेका थिए । चुनावअघि विभिन्न आश्वासन देखाउने तर चुनावपछि फर्केरै नआउने गरेकाले यसपाली जनताको भावना बुझने नेतालाई चुन्ने मनशाय बनाएको स्थानीयको भनाई छ ।

जनताको आधारभूत आवश्यक्ता र स्थानीयस्तरका समस्याप्रति नेतृत्ववर्ग गम्भिर हुन नसक्नु दुःखदायी कुरा रहेको बताउदै शाक्यले आफु अरुहरुजस्तो ठुला ठुला आश्वासन भन्दा पनि पहिलो प्राथमिकतामा जनताको आधारभूत आवश्यक्ता पुरा गर्ने अठोटसहित अघि बढेको बताए ।

उनले जनताको समस्या र आवश्यक्ता बुझने व्यक्तिलाई मतदान गर्न स्थानीय जनताहरुसँग आग्रह गर्दै अब पनि झुटा आश्वासन र प्रलोभनमा परिरहने हो भने यस क्षेत्रको समस्या समाधान र विकास निर्माणका कार्य पछि परिरहने बताए ।

पर्सा निर्वाचन क्षेत्र नंं.४ मा गठबन्धनकोतर्फबाट को उमेद्वार भारी पर्ला ?

नेकपा माओवादी केन्द्रले शाक्यको एकल नाम शिफारिस गरेपनि केन्द्रमा गठबन्दन भएका कारण यस क्षेत्रमा माओवादी केन्द्रसहित नेपाली कांग्रेसको पनि दावी रहदै आएको छ । कांग्रसका रमेश रिजालको पनि यस क्षेत्रमा दावी रहेको छ । तथापी जनलहर र युवा उम्मेदवार भएका कारण गठबन्दनका उम्मेदवारबीच शाक्यको दावेदारी बलियो देखिएको छ ।

वि.सं.२०४८, २०५१ र २०५६ सालको निर्वाचनमा कांग्रेसकै रिजाल उक्त क्षेत्रमा विजयी भएका थिए । तर, त्यसपछिका सबै निर्वाचनमा कांग्रेसबाट रिजाल नै उम्मेदवार बने पनि पराजित भएका थिए । एकातिर जनलहर खस्किरहेको र अर्कोतिर एउटै उम्मेदवार पटक पटक दोहो¥याउदा कांग्रेसले जितको नतिजा ल्याउन नसक्ने आकलनसहित माओवादी केन्द्रले शाक्यको एकल नामसहित यस क्षेत्रमा बलियो दावेदारी पेश गरेको छ ।

गठबन्धनकोतर्फबाट समय, समाज र युवाले मागेको उम्मेदवारी शाक्यको नै भएको र उनको जित सुनिश्चित रहेको माओवादी केन्द्रको दावी छ । युवाको माझमा लोकप्रिय रहेका शाक्य उक्त क्षेत्रका हरेक जनतासगँ सुखदुख र सामाजिक क्रियाकलापहरुमा जोडिइराखेकाले पनि गठबन्धनकातर्फबाट उनको दावेदारी बलियो बनेको हो ।

युवाको सवालमा, समाज रुपान्तरणको सवालमा, दलितको सवालमा, मुस्लिमको सवालमा, थारुको सवालमा, मधेस र मधेसीको सवालमा साथमा रहेर विभिन्न सुखदुःखमा सारथी रहेर काम गरिरहेका टेकबहादुर शाक्यलाई अघि बढाउदा गठबन्धनको जित सुनिश्चीत भएको रिपोर्ट पार्टी र गठबन्धनबीच पुगेको छ ।