म्याग्दीको मालिका गाउँपालिकामा गैरआवासीय नेपालीसहितको लगानीमा निमार्ण भइरहेको २५ मेघावाटको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको सुरुङमार्गको शिलान्यास भएको छ ।
धौलागिरी कालिका हाइड्रोपावरले निर्माण गरिएको आयोजनाको सुरुङमार्गको शिलान्यास श्री पंचमी तथा सरस्वति पुजाको दिन पारेर पुजापाठसहित गरिएको हो । म्याग्दीखोला आयोजनामा स्थानीयबासी, प्रवासमा रहेका म्याग्देलीका साथै गैरआवासीय नेपालीहरुको लगानी रहेको छ ।
गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका पूर्व अध्यक्षसमेत रहेका धौलागिरी कालिका हाइड्रोका अध्यक्ष विनोद कुँवरले स्थानीयसहितको लगानीमा निमार्ण हुन लागेको आयोजना समयमा नै सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् ।
नेपाली सेनाको निगरानी र व्यवस्थापनमा विष्फोटक पदार्थको प्रयोग गरी सुरुङमार्ग खन्न थालिएको छ । सुरुङमार्ग सिलान्यास कार्यक्रममा मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, धौलागिरी कालिकाका अध्यक्ष विनोद कुँवरले गर्नुभएको थियो ।

५ अर्व १५ करोडमा निमार्ण गर्न लागिएको आयोजनामा ३० प्रतिशत संस्थापक र साधारण शेयर रहेकोमा ७० प्रतिशत वित्तिय संस्थाको रहने जनाइएको छ । सानिमा बैंकको प्रमुख लगानी रहेको आयोजनाको अबको डेड बर्षमा आईपीयो निस्काशन गर्ने लक्ष्य रहेको अध्यक्ष कुँवरले जानकारी दिए ।

अध्यक्ष कुँवरले भनेका छन्–‘आयोजना स्थानीय सहितको लागानीमा निर्माण हुने साझा आयोजना भएकोले कोहि लगानी गर्न छुटेको वा किस्ता बुझाउन बाँकि हुनुहुन्छ भने आउदो फागुन मसान्तसम्म संस्थापक सरह लगानी गर्न पाइने अवसर छ ।’ आयोजनाको आवासगृह, साइट अफिस तथा अन्य भौतिक संरचना निमार्ण सम्पन्न भइसकेको छ ।
विदेशी लगानी स्वदेशमा भित्र्याउनदेखि स्वदेश तथा विदेशमा सफल व्यवसाय गरिरहेका कुँवर एनआरएनए अभियानमा पनि सक्रियरुपमा लागिरहेका छन् ।








