तातोपानी नाकामा सभामुख र अर्थमन्त्री, पूर्वाधार विकासमा जोड

news-details

नेपाल–चीनबीचको नाका तथा सडक मार्गको सरकारी पक्षबाट अवलोकन भएको छ । सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले गत सोमबार अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बाह्रबिसेदेखि नेपाल–चीन सीमा नाका मितेरी पुलसम्म स्थलगत अवलोकन गरी सो क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी लिएका हुन् ।

उनीहरुले हरेक वर्ष पहिरो गएर सडक अवरुद्ध भइरहने इको एरिया, बाढीले क्षति पुगेको लिपिङ पुल र नेपाल–चीन सीमा क्षेत्र मितेरी पुलको अवलोकन गरे ।

अवलोकनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठलगायतका सरकारी अधिकारीहरु, राजनीतिक दलका नेताहरु, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, भोटेकोसी गाउँपालिकाका अध्यक्ष, नेपाल हिमालय सीमापार बाणिज्य संघका पदाधिकारीलगायत जनप्रतिनिधिहरु, उद्योगी, व्यवसायीहरु र स्थानीयवासीको उपस्थिति थियो ।

अवलोकनका क्रममा उनीहरुले भूकम्प, केही वर्षयताको लगातारका बाढीपहिराका कारण जीर्ण बनेको सडक र तातोपानी नाकाबाट हाल भइरहेको आयातनिर्यातबारे जानकारी लिए । अवलोकनपछि सभामुख सापकोटा र मन्त्री शर्माले तातोपानी भन्सार कार्यालयमा आयोजित सडक पूर्वाधार तथा वाणिज्य व्यापारसम्बन्धी छलफलमा सहभागिता जनाए ।

छलफलमा सभामुख सापकोटाले बाह्रबिसेदेखि तातोपानी नाकासम्मको सडकको पुनर्निर्माणलगायतका विकास कार्यलाई बहुवर्षीय योजनाका रूपमा लैजानुपर्ने आवश्यकता औँल्याए । उनले त्यसका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन खाका बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । नेपाल–चीन सम्बन्धमा ऐतिहासिक महत्व बोकेको, जन्ती मार्गसमेत भनिने यो नाकालाई अन्य नाकासँग तुलना गर्न नमिल्ने भन्दै उनले सो क्षेत्रको सुधारबाट राज्यले ठूलो फाइदा लिन सक्ने बताए ।

भूकम्प, बाढी र पहिरोजस्ता विपत्तिका कारण बाह्रबिसेदेखि तातोपानीसम्मको सडक व्यवस्थित गर्न चुनौती भएको उनको भनाइ थियो । सभामुख सापकोटाले सीमा नाकाबाट आयातनिर्यात सहजीकरणका लागि चिनियाँ अधिकारीहरुसँग छलफल भइरहेको जानकारी दिँदै छिट्टै थप सहज हुने विश्वास व्यक्त गरे । उनले सो सडकखण्ड सुधारका लागि सरकारी प्रतिबद्धताअनुसार परिणाम आउने गरी काम अघि बढ्ने विश्वास व्यक्त गरे ।

छलफलमा अर्थमन्त्री शर्माले सडक सुदृढीकरण र नाका व्यवस्थित गर्न सरकारले काम अघि बढाउने जानकारी दिए । उनले सो क्षेत्रको सडक निर्माणका लागि अर्थ र भौतिक मन्त्रालयका सचिवले समन्वय गरेर कार्य गर्न निर्देशन दिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्र नाथ श्रेष्ठ, भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटा सहितको सो छलफल भूकम्प, बाढी र पहिरोका कारण बिग्रेको अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे तातोपानी खण्डको व्यवस्थित निर्माण र नाकाको सहज सञ्चालनमा केन्द्रित रहेको थियो ।

अवलोकन भ्रमणमा नै रहेका नेपाल हिमालय सीमापार बाणिज्य संघका अध्यक्ष अशोक कुमार श्रेष्ठले नाकामा सवैभन्दा ठूलो समस्या पूर्वाधार विकास भएकाले सरकारको ध्यान विकास निमार्णमा पुग्न आवश्यक भएको बताए ।

अध्यक्ष श्रेष्ठले भने–‘यदि तातोपानी नाका क्षेत्रको पूर्वाधार विकास गरेको अवस्थामा हामी व्यवसायीहरु अटोमेटीक पुरानै अवस्थामा फर्कन सक्छौ, भोलिका दिनमा विदेश पलायन हुनु पर्दैन ।’

नेपाल हिमालय सीमापार बाणिज्य संघका सचिव रामचन्द्र पराजुलीले विगत केही वर्षदेखि विभिन्न अवरोधका कारण नाकाहरु सुचारु हुन नसक्दा व्यापारीहरु मारमा परेकाले अव सरकारले आधुनिक र समयसापेक्ष विकास गर्न आवश्यक रहेको बताए ।

त्यसैगरी सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका उपाध्यक्ष सुर्यबहादुर कार्कीले उत्तरी नाकाको लागि नेपाल सरकार उत्तरदायी भएर काम गर्नु बताउँदै स्थानीयहरुले सहयोग गर्नु पर्ने बताए ।

भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले प्राकृतिक विपत्तीका कारण जोखिममा रहेका कारण सरकारलाई चाइना सरकारसँग कूटनितिक पहल गरी भोटेकोशी गाउँपालिका मात्रै नभएर सिङ्गो सिन्धुपाल्चोक जिल्ला नै जोखिममा पर्ने खतराबाट बचाउन आग्रह गरे ।

सिल्क ट्रान्सपोर्ट कम्पनी अध्यक्ष रमेश शेर्पाले कोभिडको समयमा तातोपानी नाकाबाट धेरै आयात भएकाले अगामी दिनमा नाका सहज बनाउँदै पुर्वाधार विकास गरेर राजमार्गलाई फेरि चिनाउने मौका ल्याउन आग्रह गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *