सीता शर्मा/ विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फिर्ति तथा उद्धारका लागि नयाँ उडान तालिका सार्वजनिक भएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ ९ गते मंगलबारदेखि दैनिक पाँच सय नेपालीलाई स्वदेश ल्याउने गरी नयाँ उडान तालिका सार्वजनिक गरेको हो ।

नयाँ तालिका अनुसार भदौ ९ गते साउदी अरेबियाबाट एयर अरेबियाले, १० गते आबुधाबीबाट फ्लाई दुबईले, ११ गते रियादबाट नेपाल एयरलाइन्सले, दम्मामबाट हिमालयन एयरलाइन्सले र इस्तानबुलबाट टर्किस एयरले उद्धार उडान गर्नेछन् । टर्किस र कतार एयरलाइन्सले एक पटकमा एक सय जनाभन्दा बढी यात्रु ल्याउन नपाउने भएका छन् ।

यसअघि ती एयरलाइन्सले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड मिचेर जहाजभरि यात्रु ल्याइरहेका थिए । अहिले मन्त्रालयले ती दुई एयरलाइन्सलाई किटान नै गरी एक सयभन्दा बढी यात्रु नल्याउन निर्देशनसमेत जारी गरेको छ ।

यस्तै १२ गते नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट, हिमालयनले पनि क्वालालम्पुरबाटै र कतार एयरवेजले दोहाबाट, भदौ १३ गते सिल्क एयरले अस्ट्रेलिया र कोरियन एयरले कोरियाबाट, १४ गते नेपाल, हिमालयन र मालिन्दो एयरलाइन्सले क्वालालम्पुरबाट एकसाथ उडान गर्नेछन् भने १५ गते नेपाल एयरलाइन्सले दुबई र हिमालयनले आबुधाबीबाट, भदौ १६ गते नेपाल एयरलाइन्सले कतार र दुबईबाट तथा हिमालयनले कतारबाट उद्धार उडान गर्ने तालिका सार्वजनिक गरिएको छ ।

उद्धार उडानका लागि यात्रुहरूले पीसीआर रिपोर्ट ल्याउनुपर्ने, पीसीआर टेस्ट गरेका र नगरेकालाई एकै ठाउँमा राख्न नपाउने, विदेशबाट आउने यात्रुले सात दिन होटल क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्नेछ ।

पीसीआर परीक्षण सहज भएका मुलुक मलेसिया, यूएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, क्यानडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णय अनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ तथा कर्मचारी, संयुक्त राष्ट्रसङ्घ, विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान खोलिने पनि जनाइएको छ ।

पीसीआर परीक्षण सहज नभएका मुलुकहरू जस्तै–साउदी अरब, कुवेत, कतारलगायत अन्य मुलुकबाट नियमित उडानबाट यात्रु ल्याउन नपाइने व्यवस्था गरिएको छ । त्यस्ता मुलुक र नियमित उडानका लागि अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावली बमोजिमका यात्रुका लागि चार्टर उडान हुनेछन् ।

वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिबाहेक अन्य तरिकाले उद्धार उडानबाट नेपाल आउने नेपाली नागरिक काठमाडौँ उपत्यका भित्रका होटलमा आफ्नै खर्चमा कम्तीमा सात दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्छ । तर पीसीआर नेगेटिभ आएमा उडानबाट आएका नेपाली नागरिकलाई १४ दिन होम क्वारेन्टाइनमा बस्ने लिखित प्रतिबद्धतासहित जान दिने र यसको अनुगमन स्थानीय तहले गर्नेछन् ।