चाइनाबाट १ सय ८० नेपाली शनिवार नेपाल ल्याइदै

news-details

सरकारले चीनको हुबेई प्रान्तमा रहेका एक सय ८० नेपालीलाई शनिबार स्वदेश ल्याउँदैछ । उनहलाई खरिपाटीको क्वारेन्टाइनमा दुई हप्ता राखेपछि मात्र परिवारसँग जान दिइने जनाइएको छ ।

हुबेई प्रान्तको वुहान शहर र आसपासका क्षेत्रमा बस्दै आएका एक सय ८० जना नेपालीले घर फर्किन चीनमा रहेको नेपाली दूतावासमा अनलाइन आवेदन भरेका थिए ।

नेपाली दूतावासले स्वदेश फर्काइने नेपालीलाई सुरक्षित स्थान अर्थात् क्वारेनटाइनमा बस्दा र नेपाल फर्किने क्रममा पालना गर्नुपर्ने विषयमा शर्तनामा गराएको छ । नेपाल ल्याइएपछि उनीहरुले १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा रहँदा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र सरकारले तोकेको शर्त पालना गर्नुपर्ने छ ।
क्वारेनटाइनमा रहँदासम्म परिवार र आफन्तलाई भेट्न नपाइने, त्यहीँको खाना खानुपर्ने र डाक्टर तथा सुरक्षाकर्मीको निगरानीमा बस्नुपर्ने छ ।

सरकारले चीनको हुबेई प्रान्तका वुहानसहित विभिन्न ठाउँमा रहेका एक सय ८० जना नेपालीलाई लिन शनिबार नेपाल वायुसेवा निगमको एयरबस ३३०–२०० सिरिजको दुई सय ७४ सिटे जहाज वुहान पठाउँदै छ । जहाजमा एक चिकित्सक, दुई नर्स र एक पारामेडिक्स रहेको चिकित्सक टोली पनि जानेछ ।

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नसरेको निश्चित भएका नेपालीहरुलाई स्वदेश ल्याइँदैछ । नेपाल ल्याइने क्रममा चीनको वुहानमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरुको पहिलो स्वास्थ्य जाँच हुनेछ । जाँचको क्रममा कसैमा सङ्क्रमण भेटिए उसलाई नेपाल ल्याइने छैन । उसको उपचार चीनमै हुनेछ । सङ्क्रमण नदेखिएका व्यक्तिमात्र स्वदेश आउने छन् । विमानमा राखिसकेपछि सङ्क्रमणको लक्षण देखा परेमा विमानभित्रै व्यवस्था गरिएको ’आइसोलेशन’ कक्षमा सङ्क्रमितलाई राखिने छ ।

त्रिभुवन विमानस्थलमा अवतरणपछि उनीहरुको फेरि स्वास्थ्य परीक्षण गरिने जनाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसार अवतरणका बेला ‘एयरक्राफ्ट डिस्इन्फेक्सन’ गरिने छ । त्यसका लागि विमानस्थल झण्डै १२ घण्टा अवरुद्ध हुनेछ । यस्तै एक सय ८० जना नेपालीलाई चीनबाट ल्याउने विमानलाई कम्तीमा ४८ घण्टा विश्राम दिइने छ । रोगका जीवाणु हुन सक्ने भएकाले तिनलाई निस्तेज पार्न त्यो विमान कम्तीमा पनि ४८ घण्टा व्यवसायिक उडानमा जाने छैन ।

त्यस्तै निगमले चीन जाने चालक दलसहितको टोलीलाई एक हप्तासम्म बिदा दिने छ । त्यो एक हप्ता उनीहरु चिकित्सकको निगरानीमा घरमै रहने छन् । विमानस्थलमा कार्यरत कर्मचारीले कार्यस्थलमा मास्क (मुखावरण), पञ्जा र आवश्यकताअनुसार अन्य स्वस्थ्य सावधानी उपाय अवलम्बन गर्नुपर्ने छ ।

सरकारले चीनबाट ल्याइने नेपाली राख्न भक्तपुरको खरिपाटीमा रहेको विद्युत् प्राधिकरणको तालिम केन्द्रको होस्टेलमा क्वारेन्टाइनको व्यवस्था गरिसकेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *