संचारकर्मी रबि लामिछानेसहित ३ जना विरुद्ध पत्रकार शालिकराम पुडाशैनीलाई आत्महत्या गर्न दुरुत्साहित गरेको अभियोगमा सरकारी वकिलको कार्यालय चितवनले जिल्ला अदालत चितवनमा मुद्धा दायर गरेको छ ।
आत्महत्या दुरुत्साहनको अभियोगसहित ५ वर्ष कैद र ५० हजार जरिवानाको मागदावी गर्दै संचारकर्मी रबि लामिछाने, युवराज कडेल र अस्मिता कार्कीमाथि मुद्धा दायर गरिएको जिल्ला अदालत चितवनले जनाएको छ ।
अदालतले आजैबाट जिल्ला न्यायाधिस हेमन्त रावलको इजलासमा यस मुद्धाको सुनुवाई सुरु गरपनि सुनुवाई नसकिएपछि भोलि १० बजेबाट पुनः बयान सुरु हुने भएको छ ।
अस्मिता कार्कीको बयान आज सकिएपनि लामिछाने र कडेलको बयान सुरु नहुदा भोली सोमबार मात्र उनीहरुको बयान सुरु हुने भएको हो । बयान नसकिएपछि जिल्ला अदालत चितवनले तीनै जनालाई हिरासतमा पठाएको छ ।
अब बयान सकिएपछि थुनछेकको बहस सुरु हुनेछ । छुनछेक बहसपछि मात्र अदालतले थुनामा राख्ने कि छाड्ने भन्ने आदेश दिने छ ।
गत साउन २० गते चितवनको कंगारु होटलमा आत्महत्या गरेका पत्रकार पुडाशैनीले आत्महत्या गर्नुअघि भिडियो रेकर्डमा उल्लेख गरे अनुसार लामिछानेसहित ३ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको थियो ।
प्रहरीले १० दिनसम्म म्याद लिएर अनुसन्धान थालेकोमा आज आइतबार अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि अदालतमा मुद्धा दायर गरिएको हो ।








